२०८२ वैशाख ३ , बुधबार (2025 Apr 16, Wednesday)

बलात्कारको जोरजुलुम गरेको कसूरमा नौ वर्ष कैद



दैलेख – ११ वर्षीया बालिकालाई बलात्कारको उद्देश्यले जोरजुलुम गरेको कसूरमा दैलेख जिल्ला अदालतले नौ वर्ष कैद गरेको छ । चामुण्डाबिन्द्रासैनी नपा–२ चाल्नेचौताराका ३७ वर्षीय खगेन्द्र अधिकारीलाई नौ वर्ष कैद र तीन लाख ५० हजार रुपैंयाँ जरिवाना सजाय भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव बीरेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट आज आइतबार उक्त फैसला भएको श्रेस्तेदार उपसचिव मल्लले बताउनुभयो । डेढ वर्ष अघि २०८० कात्तिक ८ गते चामुण्डाबिन्द्रासैनी नपा–२ चाल्नेचौतारा नजिक जंगलमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको, १० वर्ष एक र ९ वर्षकी अर्की एक बालिकालाई बलात्कार प्रयास गरेको भनी कात्तिक १४ गते प्रहरीमा पीडित पक्षले उजुरी गरेको थियो ।

गोठाला गएकी तीन बालिका मध्ये एक जनालाई बलात्कार गरेको र अरु दुई जनालाई बलात्कारको जोरजुलुम गरेको बारे बालिकाहरुले घरमा ढिला गरी सूचना दिएको कारण एक हप्तापछि मात्र प्रहरीमा उजुरी परेको थियो । घटनाको सम्वन्धमा प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालयले ०८० मंसिर ८ गते दैलेख जिल्ला अदालतमा अभियोग दर्ता गराएको थियो ।

अदालतमा अभियोग दर्ता भएको भोलिपल्ट आरोपित ०८० मंसिर ९ गते मुद्दाको थुनछेक बहसपछि तत्कालिन जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट मुद्दाको तहकीकात चलुञ्जेल आरोपितलाई पुर्पक्षका लागि दैलेख कारागार थुनामा पठाएको थियो ।

मुद्दाको तहकीकात सकेर ११ दिन अघि माघ १० गते जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट दुई बालिकालाई बलात्कार प्रयास गरेको भनिएको मुद्दामा सफाई र बलात्कार भनिएको घटनामा बलात्कारको उद्देश्यले जोरजुलुम अर्थात जबरजस्ती करणी उद्योग कसूर ठहर भएको थियो ।

स्वास्थ्य परीक्षण प्रतिवेदन र घटना परिवेशले बलात्कार भएको भनिएकी बालिकालाई बलात्कारको उद्देश्यले जोरजुलुम गरेको तर बलात्कार घटना भएको भन्ने पुष्टि नभएको भन्दै आइतबारको ‘सजाय निर्धारण पेसी’मा न्यायाधीश पाण्डेको इजलासबाट जबरजस्ती करणी उद्योग कसूरमा उक्त सजाय भएको बताइएको छ ।

मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ उपदफा (३) मा १० देखि १४ वर्ष उमेरका बालिकालाई बलात्कार गरे १८ देखि २० वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ । बलात्कारको उद्देश्यले जोरजुलुम गरेको घटनामा बलात्कार गरेको घटनामा हुने सजायको आधा सजाय हुने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार