
दैलेख – गुराँस गाउँपालिका–८ लालीकाँडास्थित मालिकामा मावि मकुटकका शिक्षकले प्रसंगबस कक्षामा दिएको अभिव्यक्ति बारे सुल्झिसकेको चार महिना पुरानो घटना उल्झनमा आएको छ । जातीय विभेद भएको भनी फेसबुक, युट्युव लगायत सामाजिक सञ्जालमा आएको भिडियोले चर्चा पाएको छ । याे सन्दर्भ सामाजिक वहसकाे विषय बनेकाे हाे ।
विद्यालयमा दशैं विदा सुरु हुने घटस्थापनाकाे अघिल्लो दिन अर्थात गएकाे २०८१ असाेज १६ गते कक्षा ९ मा सामाजिक विषयको चाडपर्व सम्बन्धी ‘सँस्कृतिको नयाँ यात्रा’ पाठ पढाउने क्रममा शिक्षक भक्तिनाथ गौतमले दलित र जनजातिहरुको भड्किलो आहारविहार प्रसंगमा ‘डोकोमा राँगो मासु रगत चुहादै हिंड्छन्, बाहुनक्षेत्रीले खसीकाे मासु प्लाष्टिकमा लिएर जान्छन्’ भनेर व्याख्या गरेकाे प्रसंग विवादको विषय बनेको हो ।
‘जीवनशैली सुधार हुनुपर्छ भन्ने अर्थमा भनेको हुँ अन्यथा नमान्नु भनी कक्षामा चर्चा गरेको थिएँ । यो सन्दर्भमा त्यही विद्यालयका गणित/विज्ञान शिक्षक रणबहादुर तिरुवाले आपत्ति जनाएपछि माफी पनि मागी सकेको थिएँ । आफ्नो स्पष्टीकरण समेत नराखी सुल्झिसकेको विषय सामाजिक सञ्जालमा सम्प्रेषण गरिएकोमा दुखी छु’ शिक्षक गौतमको टिप्पणी छ ।
विद्यालयका प्रधानाध्यापक भक्तबहादुर बस्नेतले आफूसंग गरिएको भिडियो प्रतिक्रिया समाचारमा नराखेको, मालिका मावि मकुटककी बाल क्लवका अध्यक्ष अस्मिता खड्काले ‘दलितले मात्र बोल्ने हो तिमीले बोल्नुपर्दैन’ भनी युट्युवरले हप्काएर बाहिर पठाएको प्रतिक्रिया दिनुभएको छ । भिडियोमा बोलेका बालबालिकाहरुले पनि आफूहरुलाई यसरी बाेल भनी सिकाएर बोल्न लगाएको अभिभावक भेलामा बताएका छन् ।
सुल्झिसकेको विषयमा दलित विद्यार्थीहरुलाई यस्तोयस्तो शव्द बोल भनी सिकाएर बोल्न लगाई एकतर्फी समाचार बनाइएको विषयमा मालिकामा माविले शुक्रबार अभिभावक भेलाले अपवाह फैलाउने लेखिएको समाचार युट्युव र फेसवकुबाट हटाउन आग्रह गर्ने र आवश्यक कारवाहीका लागि प्रेस काउन्सिलमा उजूरी गर्ने निष्कर्षमा पुगेको गुराँस गाउँपालिका–८ का वडाध्यक्ष दिपेन्द्र ओलीले जानकारी दिनुभयो ।
घटनाबारे आफूहरु उजुरीमा जाने तयारी रहेको दलितका लागि दलित अभियानका अभियानकर्ता गम्भीरसिंह भुलले जानकारी दिनुभयो । आफू समेत विद्यालयमा पुगेर घटना अध्ययन गरिसकेकोले कानूनी प्रक्रियामा जाने तयारी गरेको उहाँको भनाई छ । आरोपितको शिक्षकको भनाई र विद्यालयका प्रधानाध्यापकको टिप्पणी समाचारमा छुटेकोमा कमी रहेको अभियानकर्ता भुलले स्वीकार गर्नुभयो ।
विवादमा परेका दुबै जना शिक्षक अस्थायी भएकोले हटाउन सजिलो हुन्छ, हटाउनपर्छ भन्ने चर्चा पनि सुरु भएको छ । सुल्झिसकेको बासी समाचार सामाजिक सञ्जालमा आएको विषयले दुई जना शिक्षकको जागिर धरापमा परेको छ । कुनै शिक्षकहरुलाई हटाउने प्रयत्न गर्न नहुने अधिकारकर्मीहरुले विद्यालय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्