२०८१ पुस २८ , आइतबार (2025 Jan 12, Sunday)

उपनिर्वाचनमा सघाएका अधिकारीलाई सम्मान



जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे (दायाँ)

दैलेख – गएकाे मंसिर १६ गतेसम्म स्थानीय तहको उपनिर्वाचन गराउने काममा सहभागी सरकारी कार्यालयका कार्यालय प्रमुखहरुलाई आज दैलेख सदरमुकाममा सम्मान गरिएको छ । उपनिर्वाचनका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले निर्वाचन काममा सघाएका दैलेखका सबै कार्यालय प्रमुखहरुलाई सम्मानपत्र वितरण गर्नुभयो ।

निर्वाचनमा कर्मचारी र सुरक्षाकर्मीको निष्पक्षता, कार्यकौशलता र विवाद व्यवस्थापनको सीप, ज्ञान र क्षमता देखाउने अवसर हुने गरेको उल्लेख गर्दै उपनिर्वाचनले प्रजातान्त्रिक शासन प्रणालीलाई बलियो बनाउने बिश्वास व्यक्त गर्नुभयो । दुल्लू नगरपालिका–१३ का निर्वाचन अधिकृत बीरेन्द्रबहादुर मल्लले सहकार्य र समन्वय निम्ति धन्यवाद दिनुभयो ।

जिल्ला सरकारी वकील कार्यालयका जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल, नेपाली सेनाको कालिदत्त गुल्मका सेनानी सुमन कार्की, जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सनिल दाहाल, सशस्त्र प्रहरीका इञ्चार्ज डीएसपी चन्द्रबहादुर खत्री, हुलाक अधिकृत निर्मला थापा लगायतका सरकारी अधिकारीहरुलाई उक्त सम्मानपत्र दिइएको थियो ।

जिल्ला प्रशासन कार्यालय दैलेखले आयोजना गरिएको कार्यक्रमको अध्यक्षता दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गर्नुभएको थियो । मंसिर १६ गते देशभर ४१ पदका लागि भएको स्थानीय तहको उपनिर्वाचनमा दैलेखमा महाबु गाउपालिकाका अध्यक्ष र दुल्लू नगरपालिका-१३ को वडाध्यक्ष पदको लागि उपनिर्वाचन भएको थियो ।

प्रकाशित मिति : २०८१ पुस २२ गते सोमबार