
दैलेख – प्रेस सेण्टर नेपालका केन्द्रीय सचिव गणेशकञ्चन भारतीले पत्रकारहरुले व्यवसायिक क्षमता विकास र स्वनियमन गर्नुपर्ने बताउनुभएको छ । संगठनको तेश्रो दैलेख जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले पत्रकारहरु सधैं क्रियाशील हुनुपर्ने र गलत नगर्न आफै आत्म नियन्त्रित हुनुपर्ने सुझाव दिनुभयो ।
सामाजिक सञ्जालको प्रभावले मिडियाको विकासमा सहयोग पुगेको उल्लेख गर्दै केन्द्रीय सचिव भारतीले भन्नुभयो ‘मिडियामा आएका समाचार सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रचार गरिरहेका छन्, सामाजिक सञ्जालमा आएका विषयले मिडियालाई सूचना सहज भएको छ । यसले मिडियाको विकासमा सहयोग पुगेको छ ।’
कार्यक्रममा प्रेस सेण्टर नेपालका केन्द्रीय सचिव नबिन रिजालले युद्ध पत्रकारिताको समयमा कृष्णसेन ‘इच्छुक’काे अगुवाइमा स्थापना गरेको क्रान्तिकारी पत्रकार संघ नामबाट अहिले ‘प्रेस सेण्टर नेपाल’ भएसंग शान्ति प्रक्रिया र विकास पत्रकारिताको जिम्मेवारीमा आइपुगेको चर्चा गर्नुभयो ।
अधिवेशन उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोपालकृष्ण रिजाल, नेपाल बुद्धिजीवी संगठनका जिल्ला अध्यक्ष कृष्ण देवकोटा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, प्रेस यूनियनका जिल्ला सभापति अभिशेक सोनी, प्रेस चौतारीका कमल शर्मा, समाजवादी प्रेस संगठनका कर्णाली काेषाध्यक्ष कृष्ण दैलेखी लगायत वक्ताहरुले दैलेखको पत्रकारिता र सवलीकरणको आवश्यकता विषयमा बोल्नुभएको थियो ।
उक्त अधिवेशनले तीर्थ भण्डारीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतबाट चयन गरेको छ । दैलेख सदरमुकाममा आज भएक उक्त अधिवेशनले उपाध्यक्षद्वय सर्वजीत थापा, तुलसी कटुवाल, सचिव भीमबहादुर सारु, सहसचिव केशव पौडेल र कोषाध्यक्ष सुनिता सोनीलाई चयन गरेको छ ।
नेकपा माओवादी केन्द्रको शुभेच्छुक संस्थाको रुपमा परिचित प्रेस सेण्टर नेपाल दैलेख शाखाको कार्यसमिति सदस्यहरुमा प्रकाश पुलामी, भरतबहादुर शाही, पूर्णबहादुर बिष्ट, डेबिन थापा, रोशन थापा निर्बिरोध चयन हुनुभएको छ । प्रदेश प्रतिनिधिमा हेमा खड्का र कृष्णप्रसाद शर्मा अनि केन्द्रीय प्रतिनिधि रामकृष्ण कठायत छनौट गरिएको बताइएको छ ।
प्रेस सेण्टर नेपाल दैलेखका नवनिर्वाचित अध्यक्ष तीर्थ भण्डारी नेपाल पत्रकार महासंघको अघिल्लो कार्यकालमा कोषाध्यक्ष हुनुहुन्थ्यो । उहाँ फोटो पत्रकार संघका कर्णाली प्रदेश समितिका महासचिव, गज्जव नेपाल अनलाइनको सम्पादक र हास्यव्यग्य कलाकारका रुपमा परिचित हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्