
दैलेख – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् कार्यसम्पादन समितिका संयोजक जीवन शाहीले पार्टीको काममा तार जुधाउने काम नगर्न पार्टीका नेता र कार्यकर्ताहरुलाई सुझाव दिनुभएको छ । पार्टीले दैलेख सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया तथा प्रवोधनका कार्यक्रममा भन्नुभयो ‘बिजुलीको नेगेटिभ र पोजेटिभ तार छुट्टाछुट्टैले बत्ति बल्छ, मेसिन चल्छ । तर नेगेटिभ र पाेजेटिभ तार जुधाउँदा बिजुली सर्ट भएर पड्किन्छ अनि नोक्सानी गर्छ।’
पूर्व मुख्यमन्त्री समेत रहनुभएका शाहीले स्वादिलो सुन्तला, पेट्रोलियन पदार्थ अन्वेषण भइरहेको दैलेख छिटो उन्नत विकास हुनसक्ने सम्भावना भएको जिल्ला भएकोले प्रदेश र केन्द्र सरकारले पनि लगानीमा चासो राखेको सुनाउनुभयो । उहाँले विकास कार्यक्रमहरु ठेकेदारहरुको बदमासीका कारण गुणस्तरीय हुन नसकेकोले खबरदारी बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सीताकुमारी रानाले नेपाली काँग्रेसले संगठन सदृढीकरणको १०० दिने अभियान आपसी तुस मेट्ने र विवाद सिर्जना गर्ने थलोको रुपमा प्रयोग गर्न नहुने सुझाव दिनुभयो । पार्टी संगठनमा मजबुत बनाउन समस्याहरुबारे निरन्तर आन्तरिक छलफल गर्न र गुटबन्दी पूणरुपमा निस्तेज पार्न आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस दैलेखका जिल्ला सभापति मणिराम रेग्मीको सभापतित्वमा भएको अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलश्राेत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा, कर्णाली प्रदेशसभाका सदस्य पूर्णबहादुर खत्री, नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाही, हुम्ला सभापति मोहनविक्रम सिंह, काग्रेसका जिल्ला प्रवक्ता सन्देश कठायत लगायतका वक्ताहरुले आआफ्नो धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा पार्टीका प्रदेश प्रवक्ता दमन शाही, महासमिति सदस्यहरु भूपेन्द्रबहादुर शाही, मधुरविक्रम खनाल, टेकबहादुर कटुवाल, किरण भण्डारी, बासना थापा, निर्वाचन क्षेत्र स्तरीय क्षेत्रीय समितिका सभापतिद्वय दशरथ खड्का, भरतप्रसाद रिजाल, महाधिवेशन प्रनिनिधिहरु पशुपति सोनी, भूपेन्द्र शाही, इश्वर बिष्ट, काँग्रेसका जिल्ला सचिवद्वय खेमराज ओली र नारायण रेग्मी लगायतको उपस्थिति थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले पार्टीबाट जितेका जनप्रतिनिधिहरुले काँग्रेसलाई नै अवसरहरुबाट बञ्चित गर्ने, विभिन्न स्वार्थमा काम गरेको, समुदायमा कमजोर र पिछडिएको समुदायलाई श्रोत र अवसर नदिएको समस्या दर्शाएका थिए । दैलेख सदरमुकामको गणेशचोकबाट सुरु भएको बाजागाजा सहितको ¥यालीले नगर परिक्रमापछि जिसस सभाहलमा पुगी अन्तरक्रिया कार्यक्रम सुरु गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्