
दैलेख – नौमूले गाउँपालिका–२ स्थित महावै आधारभूत विद्यालय ठूलो चम्लायको कार्यालय कोठामा आइबार राति आगजनी गर्ने दुई जना प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्ने १८ वर्ष मुनिका बालकहरु रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।
सोमबार विहान विद्यालयको कार्यालय कोठाबाट धुवाँ निस्केको देखेर स्थानीयले आफूलाई खबर गरेको प्रधानाध्यापक रमित सिंहले बताउनुभयो । घटनाको सूचना पाएको इलाका प्रहरी कार्यालय नौमूलेले दुई दिनको अनुसन्धानपछि मंगलबार आगजनी गर्ने ती दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आगजनीबाट दुइटा टेवुल, ५५ वटा प्लाष्टिक कुर्ची, दुई वटा स्टील दराज, तीन वटा काठका दराज, एउटा कम्प्यूटर, एउटा प्रिण्टर, एक केभीको सोलार व्याकप, साउण्ड सिष्टम, २ थान फिल्टर, बालबालिकाले प्रयोग गर्ने १६ वटा टेबुल लगायतका सामग्रीहरु नष्ट भएको विद्यालयका प्रधानाध्यापक रमित सिंहले जानकारी दिनुभयो ।
१०० वटा माकर इङ्क, बिधालयको जग्गाधनी पूर्जा, शिक्षक र विद्यार्थीको हाजिरी रजिष्टरहरु, बिधालयले पाएको प्रमाणपत्र, शिल्ड र विद्यालयको निर्माणाधीन भवनको कागजपत्र, लेखाश्रेस्ता नष्ट भएको विद्यालय तीन दिनदेखि विद्यालयको पढाई रोकिएको प्रधानाध्यापक सिंहले बताउनुभयो ।
विद्यालयको यति धेरै क्षति गराइएको घटनामा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र समुदायका अगुवाहरुले आरोपितहरुबाट क्षति तिराउने तर मुद्दा नचलाउने भन्ने सोच गरेको कारण विद्यालय प्रशासनले जाहेरी दिन सकेको छैन । प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चल्ने स्थिति छ । विद्यालय बिहीबारदेखि चलाउने भनिए पनि निश्चित भएको छैन ।
पहरेदार अनलाइनले विव्यस अध्यक्ष जयबहादुर शाहीसंग गरेको सम्वाद सुन्नुहोस् –
प्रतिक्रिया दिनुहोस्