२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

निरासालाई चिर्दै आशा जगाऊँ : ज्ञवाली



दैलेख – नेकपा एमालेका उपमहासचिव एवम् पार्टी स्कूल विभागका प्रमुख प्रदीप ज्ञवालीले निरासालाई चिर्दै देशमा केही आशा जगाउने राम्रा प्रयासहरुलाई प्रचारप्रसार गर्न मिडियासंग आग्रह गर्नुभएको छ । प्रेसनि चौतारी नेपालले दैलेखमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विकास गतिविधिलाई गति बढाउन, अर्थतन्त्रलाई चलायमान बनाउन, सुशासन र राजनीतिक स्थिरताको निम्ति एमाले नेतृत्वको सरकारले काम थालेको बताउनुभयो ।

पार्टी कार्यकर्ता प्रशिक्षण अभियानको क्रममा दैलेख पुग्नुभएका ज्ञवालीले देशका दुई प्रमुख दलहरु एमाले र काँग्रेसले राजनीतिक स्थिरताकै लागि सत्ता गठबन्धन गर्नुपरेको उल्लेख गर्नुभयो । उहाँले काँग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी र समन्वयकारी सहकार्य रहेको उल्लेख गर्नुभयो । २०४७ मा प्रजतन्त्र पुनरस्र्थापनापछि अपवाध बाहेक सबैजसो चुनावमा काँग्रेस र एमाले मुख्य प्रतिस्पर्धा रहेको राजाको शासन हटाउन, संविधान जारी गर्दा र नीति निर्माणमा सहकार्य रहेको ज्ञवालीले व्याख्या गर्नुभयो ।

पूर्व परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले विदेश नीति र देशको स्वाधीनता रक्षाको काम गर्न, संक्रमणकालिन अवस्थाको अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिहरुको छानबिन आयोग गठन भएर काम थालिएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश विकासको निम्ति आशा जगाएको उहाँले चर्चा गर्नभयो । पत्रकारहरुको प्रश्नको जवाफ दिंदै उहाँले समावेशीता र गणतन्त्र मास्ने नभई अझै गतिशील र अधिकार सम्पन्न बनाउन संविधान संशोधन हुने बताउनुभयो ।

नेकपा एमालेका उपमहासचिव एवम् पार्टी स्कूल विभागका प्रमुख ज्ञवालीका अलवा पत्रकार भेटघाट कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य लक्ष्मीप्रसाद पोखरेल, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यकुमारी श्रेष्ठ, पार्टीका कर्णाली प्रदेश उपसचिव रबिन्द्रराज शर्मा, एमाले जिल्ला अध्उयक्ष सूर्यबहादुर शाही लगायतको उपस्थिति थियो । कार्यक्रम प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष पुस्कर थापाको अध्यक्षतामा भएको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार