२०८३ असार २६ , शुक्रबार (2026 Jul 10, Friday)

यागिनी एकादशीमा धार्मिक अनुष्ठान



दैलेख – नारायण नगरपालिका–७ किमुगाउँस्थित सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले यागिनी एकादशीका अवसरमा शुक्रबार मन्दिर परिसरमा रहेको वेदविद्याश्रममा हिन्दू धर्मालम्बीहरुकाे उत्साहपूर्ण सहभागितामा धार्मिक अनुष्ठान गरेको छ ।

अनुष्ठानमा पण्डित नरेन्द्रप्रसाद उपाध्यायले वैदिक परम्परा, सनातन धर्म र धार्मिक संस्कृतिको महत्वबारे कथा वाचन गर्नुभएको थियो । विष्णु गौतम, उत्तत श्रेष्ठ, बलराम श्रेष्ठ र राजु श्रेष्ठको टोलीले भजन–कीर्तन प्रस्तुत गर्दै कार्यक्रमलाई भक्तिमय बनाएको थियो ।

कार्यक्रममा हिन्दू धार्मिक प्रचारक बालकृष्ण प्याकुरेल, निर्मला खड्कालगायत वक्ताले महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नहकुल खड्काको पहलमा सञ्चालनमा रहेको वेदविद्याश्रम सनातन धर्म, संस्कृत शिक्षा र वैदिक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँहरूले स्थानीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

वक्ताहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै नयाँ पुस्तालाई वैदिक शिक्षा र संस्कारसँग जोड्न वेदविद्याश्रमले महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै यसको दीगो सञ्चालनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार