दैलेख – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी र लागत–प्रभावी स्वास्थ्य सेवा भएको बताउनुभएकाे छ । दैलेखलाई पूर्ण खाेप दिगाेपना घाेषणासभामा उहाँले साे धारणा राख्नुभएको हाे ।
मन्त्री भण्डारीले राष्ट्रिय स्वास्थ्य नीति, संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकार तथा दिगो विकास लक्ष्य हासिल गर्न खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो ।
दुर्गम बस्तीका बालबालिकासम्म गुणस्तरीय खोप सेवा पुर्याउन आवश्यक बजेट, जनशक्ति र पूर्वाधार व्यवस्थापनमा प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सबै सरोकारवालालाई पूर्णखोप दिगोपना अभियानलाई सफल बनाउन हातेमालो गर्न आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीकाे अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव राेशनी श्रेष्ठ, दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्का, रास्वपाका जिल्ला सचिव रमेश केसी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव भीम सिजापतिले पूर्ण खाेप निरन्तरताको सवालमा बाेल्नुभएकाे हाे ।
दैलेखमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३ हजार २३४ जना बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने सबै नियमित खोप पूरा गरेका छन् । स्वास्थ्य कार्यालय दैलेखका अनुसार तीमध्ये १ हजार ५३१ जना बालिका र १ हजार ७२१ जना बालक रहेका छन् ।
नेपाल सरकारले हाल बालबालिकालाई १४ प्रकारका प्राणघातक रोगविरुद्ध निःशुल्क नियमित खोप उपलब्ध गराउँदै आएको छ । साथै गर्भवती महिलालाई टिटानस–डिफ्थेरिया (टिडी) खोप र किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप पनि प्रदान गर्दै आएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका ११ वटै स्थानीय तहमा २५९ खोप केन्द्रमार्फत नियमित खोप सेवा सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा ५० जना खोप कार्यकर्तालाई तालिम तथा अभिमुखीकरण समेत प्रदान गरिएको खाेप अधिकृत थीरप्रसाद रेग्मीले जानकारी दिनुभयाे ।











प्रतिक्रिया दिनुहोस्