दैलेख – नारायण नगरपालिकाको १८ औँ नगरसभा आइतबार शुभारम्भ भएको छ । नगरसभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख लोमन शर्माले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख तप्ताकुमारी थापाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अनुमानित बजेट प्रस्तूत गर्नुभयो ।
नगर प्रमुख शर्माले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आर्थिक विकास, उद्यमशीलता तथा सहकारी प्रवर्द्धन, पर्यटन तथा संस्कृति संरक्षण, सामाजिक न्याय तथा सामाजिक सुरक्षा, महिला, बालबालिका तथा सामाजिक विकास, जनस्वास्थ्य तथा पोषण, शिक्षा तथा खेलकुद, वातावरण तथा जलवायु अनुकूलन, सुशासन तथा प्रभावकारी सेवा प्रवाह, राजस्व अभिवृद्धि लगायतका विषयलाई प्राथमिकतामा राखिएको छ ।
नगरपालिकाका उपप्रमुख थापाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६४ करोड १८ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको बजेट प्रस्ताव गर्नुभयो । बजेटमा नगरपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता, पूर्वाधार विकास तथा सामाजिक क्षेत्रको सुदृढीकरणलाई प्राथमिकता दिइएको जनाइएको छ ।
नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजालले संघीय सरकार, प्रदेश सरकार तथा नगरपालिकाको आफ्नै आम्दानीको यथार्थ आधारमा बजेट निर्माण गरिएको बताउनुभयो । उहाँले प्रस्तावित बजेट कार्यान्वयनयोग्य र स्रोत सुनिश्चिततामा आधारित रहेको उल्लेख गर्नुभयो ।
प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी असार मसान्तभित्र पारित गरिने नारायण नगरपालिका-६ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता जनक न्याैपानेले जानकारी दिनुभयाे । स्थानीय तह सरकार सञ्चालन ऐन तथा कार्यविधिले असार १० गतेभित्र प्रस्तूत गरिएको नीति कार्यक्रम र बजेट असार मसान्तसम्म पारित गरी सक्नुपर्ने पर्ने कानूनी व्यवस्था छ ।
नारायण नगरपालिका जिल्लाको जेठो नगरपालिका तथा जिल्ला सदरमुकाम रहेको स्थानीय तह हो । तत्कालीन सरकारले २०५३ फागुन १५ गते त्रिवेणी, बेलासपुर, सरस्वती, बसन्तमाला र नारायण गाविसलाई समेटेर ९ वडा रहेको नारायण नगरपालिका गठन गरेको थियो । देशकै संघीय पनुरसंरचना क्रममा २०७३ साल माघ २७ गते भवानी र बिन्ध्यवासिनी गाविसलाई समेत गाभेर हाल ११ वडा कायम गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्