२०८३ असार ६ , शनिबार (2026 Jun 20, Saturday)

दुल्लूले प्रस्तूत गर्‍यो, १ अरब भन्दा बढीकाे बजेट



दैलेख – दुल्लू नगरपालिका १३ वटै वडाका जनप्रतिनिधिहरु, कर्मचारी, इच्छुक नागरिक र पत्रकारहरु सभाहलमा पहिल्यै भरिभराउ थिए । नेपाली पोशाकमा सजिएर दुल्लू नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजाल सभाहलमा प्रवेश गर्ने वित्तिकै उहाँको सम्मान सबै जना आआफ्नो स्थानबाट उठे ।

उहाँ सभाध्यक्षको कुर्ची नजिक पुग्नुभएको बेलो राष्ट्रिय गान बज्यो । यो दृश्य हो शनिवार दुल्लू नगरपालिकाको १९ औं नगर सभाको शुभारम्भ कार्यक्रमको । राष्ट्रिय गान लगतै सहिदहरुको तस्वीरमा मल्यार्पण भयो अनि एउटा स्वदेश गानमा कर्मचारीहरुले नृत्य देखाए ।

नृत्य सकिए लगतै नगर प्रमुख रिजालले सभाध्यक्षकै आसनबाट नगरसभाको औपचारिक शुभारम्भ भएको घोषणा गर्नुभयो । उहाँले आगागी आर्थिक वर्ष २०८३/८४ का लागि नगरपालिकाले तय गरेको नीति तथा कार्यक्रम बाचन गर्नुभयो । नीति तथा कार्यक्रम बाचनपछि उपप्रमुख बिना कार्कीलाई आर्थिक वर्ष २०८३/८४ को बजेट भाषणका लागि समय दिनुभयो ।

 नगर प्रमुख रिजालले युवाको सिर्जनशीलतालाई नीति निर्माण र विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्दै ‘युवा प्रतिभा, नगरको गौरव’ नारासहित युवालाई अवसर र प्रोत्साहन प्रदान गर्ने नीति अवलम्बन गरिएको उल्लेख गर्नुभयो। नगर प्रमुख रिजालले महिला तथा सामाजिक विभेदमा परेका जाति र वर्गको उत्थानका कार्यक्रमलाई समेत प्राथमिकता दिइएको बताउनुभयो ।

दिगो विकास लक्ष्य, नेपाल सरकारको १६औँ आवधिक योजना, कर्णाली प्रदेश सरकारको आवधिक योजना तथा दुल्लू नगरपालिकाको दोस्रो आवधिक योजनाका रणनीतिक लक्ष्य पूरा गर्न ‘ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक संरक्षण र विकास हाम्रो पहिचान’ भन्ने नारालाई अघि सारिएको उहाँको भनाइ थियो ।

नगरसभामा उपप्रमुख विना कार्कीले आगामी आर्थिक वर्षका लागि कुल १ अर्ब ५ करोड ७० लाख ४९ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण प्रस्तुत गर्नुभयो ।

प्रस्तुत बजेट अनुसार संघीय सरकारबाट समानीकरण अनुदानतर्फ १२ करोड ४० लाख, सशर्त अनुदान ३७ करोड ६३ लाख, विशेष अनुदान ८८ लाख, समपूरक अनुदान १ करोड ६३ लाख तथा राजस्व बाँडफाँडबाट १२ करोड १६ लाख ७९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै, प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ७४ लाख ७५ हजार, सशर्त अनुदान ६ करोड ५० लाख २५ हजार, विशेष अनुदान ३५ लाख, समपूरक अनुदान ८६ लाख तथा राजस्व बाँडफाँडबाट ३३ लाख ६५ हजार ८ सय ९६ रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।

नगरपालिकाको आन्तरिक राजस्व १ करोड २० लाख रुपैयाँ रहने अनुमान गरिएको छ । साथै सामाजिक सुरक्षा भत्तातर्फ २४ करोड, सहिद स्मृति भत्ता तथा घाइतेहरूको निर्वाह भत्ताका लागि १० लाख, सडक बोर्ड नेपालबाट प्राप्त हुने ५० लाख रुपैयाँ र चालु आर्थिक वर्षको बजेटबाट बाँकी रहेको ५ करोड ४० लाख ५ हजार रुपैयाँ समेत समावेश गरी बजेट विनियोजन गरिएको जनाइएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बुढाक्षेत्रीले संघीय र प्रदेश सरकारले विनियोजन गरेको बजेट, नगर क्षेत्रका विकास पूर्वाधारका लागि छुट्याइएका कार्यक्रम तथा विगत वर्षहरूको आन्तरिक राजस्वलाई आधार बनाएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तयार पारिएकाले कार्यान्वयनमा कुनै दुविधा नरहेको विश्वास व्यक्त गर्नुभयो ।

संघीय संसद र प्रदेशसभाका संसदीय गतिविधिको झल्को दिने गरी गाउँसभा र नगर सभा सञ्चालन गर्न स्थानीय तह सरकार सञ्चालन ऐन तथा कार्यविधिले तोकेकोले दुल्लू नगरपालिकाले यो शैलीमा १९ औं नगरसभा शुभारम्भ गरेको हो । स्थानीय तह सरकार सञ्चालन ऐन तथा कार्यविधिले स्थानीय सरकारले आउने वर्षलाई असार १० गतेभित्र नीति कार्यक्रम तथा बजेट प्रस्तूत गरिसक्नुपर्ने समय सीमा तोकेको छ ।

दैलेखका ११ पालिका मध्ये गुराँस गाउँपालिकाले असार २ गते नै नीति कार्यक्रम ल्याइसकेको छ । यो वर्ष नीति कार्यक्रम र बजेट समेत छिटो ल्याउनेमा दुल्लू नगरपालिका पहिलो पालिका बनेको छ । स्थानीय तह सरकार सञ्चालन ऐन तथा कार्यविधिले असार १० गतेभित्र प्रस्तूत गरिएको नीति कार्यक्रम र बजेट समेत विषयमा गाउँसभानगरसभामा दफाबार छलफलपछि असार मसान्तसम्म पारित गरी सक्नुपर्ने पर्ने वाध्यकारी व्यवस्था छ ।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिबार