दैलेख – जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले स्वास्थ्य संस्थामा जडित उपकरण र श्रोतको उचित सदुपयोग नभएको गुनासो गर्नुभएको छ । शुक्रबार नारायण नगरपालिकाको पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रममा उहाँले श्रोतको उचित उपभोग नभएकोले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नसकेको टिप्पणी गर्नुभयो ।
समन्वय प्रमुख शाहीले बालबालिकालाई खोप र पोषण जस्तै गुणस्तरीय शिक्षा पनि आवश्यक रहेको तर्क राख्नुभयो । स्वस्थ बालबालिकालाई गुणस्तरीय शिक्षा दिन सके मात्र बालबालिकाहरुको भविष्य उज्ज्वल हुने उहाँले व्याख्या गर्नुभयो । उहाँले अगाडि भन्नुभयो विकास योजना स्थानीय आवश्यकताका आधारमा प्राथमिकता राख्न सुझाव दिनुभयो ।
सभाध्यक्ष नारयाण नगरपालिकाका मेयर लोमन शर्माले स्वास्थ्य संस्थाहरुको असल प्रयास र लगावले नगरपालिकाको स्वास्थ्य सेवा प्रभावकारी भएको उल्लेख गर्दै यस निरन्तता दिन आग्रह गर्नुभयो । त्यसबखत उपमेयर तप्ताकुमारी थापाले खोप सेवा प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयम्सेविकाहरुको महत्व योगदान रहेको चर्चा गर्नुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ रिजाल, स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रतिनिधि डा. सुदीप खड्का, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, नारायण नगरपालिकाका वडाध्यक्ष दिर्घबहादुर मल्ल, बिन्ध्यवासिनी स्वास्थ्य केन्द्रका इञ्चार्ज चन्द्रबहादुर सुनार, वडा नं. ४ की महिला स्वास्थ्य स्वयमसेविका पार्वती कटुवाला समेतले पूर्ण खोप सुनिश्चितताको निरन्तरता बारे बोल्नुभएको थियो ।
५ वर्ष मुनिका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएको विभिन्न परीक्षणबाट पुष्टि भएकोले नारायण नगरपालिकाको पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको भनी पठाएको पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र समन्वय प्रमुख शाहीले मेयर शर्मालाई प्रदान गर्नुभयो । घोषणासभा अघि पूर्ण खोप सुनिश्चितता ¥यालीले नगर परिक्रमा गरेको थियो ।











प्रतिक्रिया दिनुहोस्