दैलेख सिमाना जोडिएको पालिकाहरुका साझा हित र सरोकारका विषयमा जाजरकोटको छेडागाड नगरपालिका र दैलेखको भगवतीमाई गाउँपालिकाले अन्तरपालिका समन्वय बैठक गरेका छ । मध्यपहाडी राजमार्गसंग जोडिएको छेडागाड नगरपालिका२ सुयाडा मालिका मन्दिरको प्रांगण मंगलबार उक्त समन्वय बैठक बसेको हो ।
सुयाडामा दुइटै पालिकाको लगानीमा गेट निर्माण गर्ने, सुयाडा नजिकैको तुलाकोट मन्दिर पुग्न पथमार्ग र भ्यूटावर निर्माण गर्ने, प्राकृतिक बस्तुहरुको उचित सदुपयोगसंग पालिकाहरुको आमदानी श्रोत बढाउने, लागू औषध दुव्र्यसनी रोकथाम, विपद व्यवस्थापन र शान्ति सुव्यवस्थामा प्रवद्र्धनमा सहकार्य गर्ने समन्वय बैठक निर्णय गरेको छ ।
छेडागाड नगरपालिकाका मेयर रत्नबहादुर खड्काले दुई पालिकाका धार्मिक स्थलहरुको सम्वद्र्धन, आन्तरिक पर्यटन विकास र असल भाईचाराको विकास गर्न अन्तरपालिका समन्वय बैठक उपलव्धीमूलक रहेको बताउनुभयो । कार्यक्रममा उपमेयर चन्द्रबहादुर थापाले नगरपालिकाले गरेका असल अभ्यासहरुका विषयमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले समाजमा नकारात्मक भावनाको विकास भइरहेको बेला जनप्रतिनिधि र कर्मचारीहरुले जनउत्तरदायी रुपमा काम गर्नपर्ने बताउनुभयो । उपाध्यक्ष मिना खड्का थापाले भगवतीमाई गाउँपालिकाको सुशासन अभ्यासले नियमित रुपमा उत्कृष्टता हासिल गर्दै आएको बताउनुभयो ।
छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशीकुमार लम्साल, भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, दुईटै पालिकाका कार्यपालिका सदस्यहरु, वडासदस्य, शाखा प्रमुखहरु समेतको उपस्थिति थियो । कार्यक्रमकै क्रममा सुयाडा मालिका मन्दिरमा सरस्वतीको मूर्ति अनावरण गर्नुभयो । कार्यक्रममा छेडागाड नगरपालिकाका मेयरले भगवतीमाई गाउँपालिकाका अध्यक्षलाई मायाकाे चिनाे हस्तान्तरण गर्नुभयाे ।











प्रतिक्रिया दिनुहोस्