२०८३ साउन १० , आइतबार (2026 Jul 26, Sunday)

युवाहरुले प्रतिस्पर्धात्मक क्षमता बढाउन आवश्यक



दैलेख – कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले युवाहरुले प्रतिस्पर्धात्मक क्षमता बढाउन आग्रह गर्नु भएको छ । दुल्लू नगरपालिकाको सहयोगमा कर्णाली युवा संघ आज मंगलबार दुल्लूमा आयोजना गरेको युवा अन्तरक्रिया कार्यक्रममा जहाँ पनि प्रतिस्पर्धामा जित्न सक्ने क्षमता विकास गर्न युवाहरु स्वयम् तत्पर हुनुपर्ने उहाँले सुझाव दिनुभयो ।

कार्यक्रममा दुल्लू नगरपालिकाका मेयर युवाहरुमा लगनशीलता कमी देखिएको औल्याउँदै शैक्षिक वेरोजगारी बढिरहेको बेला युवाहरुले समय अनुकूल विज्ञान र प्रविधिको ज्ञान, चेतना र क्षमता विकास गर्न नसक्नेहरु कतै रोजगार, आफैले गर्ने स्वरोजगारमूलक काममा पछाडि परिरहेका बताउनुभयो । युवाहरुलाई सत्मार्गमा लगाउन परिवार र समाजको पनि भूमिका हुने उहाँको तर्क थियो ।

त्यसबखत समाजमा भोगिरहेका समस्या र युवा सशक्तिकरणका लागि भूमिका विषयमा युवाहरुले उठाएका सवाल र समाधानका विषयमा दुल्लू नगरपालिकाका उपमेयर बिना कार्की, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर बुढा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, इकाला प्रहरी कार्यालय दुल्लूका इञ्चार्ज प्रहरी निरीक्षक सरोज कँडेलले प्रष्ट्याउनुभएको थियो ।

कर्णाली युवा संघ दुल्लूका अध्यक्ष तलित थापाको अध्यक्षतामा भएको कार्यक्रममा दुल्लू नगरपालिका ८ का वडाध्यक्ष सुशील भण्डारी, नेपाली काँग्रसका दुल्लू नगर सभापति लालबहादुर रावत, एमालेका दुल्लू नगर सचिव कमल शर्मा, नेकपाकी नेतृ रमा कार्की, विजय मावि दुल्लूका प्रधाध्यापक केशव भण्डारी, पञ्चकोशी पर्यटन समितिका अध्यक्ष नवीन योगी लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख १ गते मंगलबार