२०८२ चैत २८ , शनिबार (2026 Apr 11, Saturday)

अपाङ्गता र कान उपचार निशुल्क शिविर चल्दै



दैलेख – काठमाडौँका महँगा अस्पतालहरूमा लाखौँ रुपैयाँ खर्च गरेर मात्र सम्भव हुने अपाङ्गता र कान सम्बन्धी विशेषज्ञ उपचार सेवा दैलेखमै निःशुल्क उपलब्ध हुने भएको छ । आगामी जेठ ९, १० र ११ गते जिल्ला अस्पताल दैलेखमा सञ्चालन हुने विशेष स्वास्थ्य शिविर मार्फत नागरिकहरूले यो सुविधा पाउने भएका हुन् ।

​शिविरको तयारीका सन्दर्भमा जिल्ला अस्पतालमा आयोजित परामर्श कार्यक्रममा जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष र पालिका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको कार्यक्रममा गोर्खा वेलफेयर ट्रष्टका सामाजिक शाखा प्रमुख प्रितम थापा मगर र डा. मेलिना श्रेष्ठ ओलीले व्यवस्थापन, वितरण गरिने सहायता उपकरणहरूको प्राविधिक पक्षबारे प्रष्ट्याउनु भएकाे थियो ।

​स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. मनोज विश्वकर्माले यो अभियान एक विशुद्ध परोपकारी कार्य भएको बताउनुभयो। उहाँले ग्रामीण क्षेत्रमा आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरूका लागि यो सुवर्ण अवसर भएको उल्लेख गर्नुभयो। डा. विश्वकर्माले भन्नुभयो ‘अत्यन्तै कमजोर आर्थिक अवस्था भएकाहरूलाई निःशुल्क उपचार गर्ने र जटिल समस्या भएकालाई बाहिरका अस्पतालमा सिफारिस तथा सहयोग गर्ने काम पनि यही अभियान अन्तर्गत हुनेछ।’

​परामर्श कार्यक्रममा दैलिख जिल्लाका समन्वय समिति प्रमुख नमराज शाही र ११ वटै स्थानीय तहका प्रमुखहरूले अपाङ्गता र कान उपचार शिविरबाट  अधिकतम फाइदा लिन वडा तह सम्म प्रभावकारी सूचना प्रवाह गर्ने र बिरामीहरू लाई अस्पतालसम्म ल्याउन आवश्यक समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ​यो शिविरमा कान नसुन्ने समस्या भएका, शारीरिक रूपमा अशक्त र आर्थिक पहुँच नभएका जिल्ला बासीले प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार