२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

आमसञ्चारको जिम्मेवार हुनुपर्छ : मन्त्री शाह



दैलेख – कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनोदकुमार शाहले राजनीतिक उतार चढावको समयमा आमसञ्चार माध्यमहरु जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दैलेख शाखाले सञ्चालन गरेको एक हप्ते आधारभूत पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै संघीय संसदमा बहुमतका आडमा राज्यका निकाय र नागरिक समाज माथि हस्तक्षेप भइरहेको बेला आमसञ्चार माध्यमहरुले सरकारका त्रुटी औल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो ।

मन्त्री शाहले भन्नुभयो कठिन परिस्थितिको बेला विभिन्न राजनीतिक परिवर्तनमा योगदान पु¥याएका दलहरुलाई अपमान गर्ने, राणा शासन, पञ्चायत फालेका, गणतन्त्र स्थापना र समावेशी लोकतान्त्रिक अभ्यास जस्ता दुरगामी परिवर्तनका लागि योगदान दएका काँग्रेस, एमाले र माओवादीलाई यति छिट्दै बिर्सन हुदैन । उहाँले थप्नुभयो उनीहरुका पनि बदमासी गरेका हकमा छुट पाउनु हुन्न कडा सजाय गर्नुपर्छ । अनि परिवर्तनका लागि योगदान दिएकाहरु पनि सुध्रिदै जानुपर्ने अहिलेको आवश्यकता हो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष नरेन्द्र थापाले बढी परिश्रम गरेर पनि कम आम्दानी हुने पत्रकारिता पेशाको सामाजिक योगदानकै कारण प्रशंसा र सबैले चिन्न सक्ने राम्रो पक्ष भएको बताउनुभयो । त्यस बखत प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष उदयराज अधिकारीले आधारभूत पत्रकारिता तालिम चलाएकोमा धन्यवाद दिनुभयो । त्यसबखत प्रेस सेण्टर नेपाल दैलेखका अध्यक्ष तीर्थ भण्डारीले सूचना प्रविधिको उच्चतम प्रयोगबाट पत्रकारितालाई अब्बल बनाउन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनार, दोश्रो कार्यकालका अध्यक्ष कमल शर्मा, महासंघका जिल्ला सचिव भीम सिजापति, प्रेस यूनियनका जिल्ला सभापति अभिशेक अनुराग, प्रेस सेण्टर नेपाल दैलेखका अध्यक्ष तीर्थ भण्डारी, पत्रकारहरु प्रकाश अधिकारी, ज्योती कटुवालले आधारभूत पत्रकारिताका विभिन्न आयाय र व्यवसायिक क्षमता विकासका लागि पत्रकारको सक्रियता विषयमा तालिम दिनुभएको थियो । तालिममा ४ पुरुष सहित १२ जना प्रशिक्षार्थी पत्रकारहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ चैत २१ गते शनिबार