२०८३ भदौ २८ , आइतबार (2026 Sep 13, Sunday)

बलात्कारी र मतियार दुवैलाई कैद



दैलेख – एक जना युवतीलाई दुई युवक लागेर बलात्कार गरेको घटनामा दैलेख जिल्ला अदालतले आज कैद सजाय गरेको छ । बलात्कार कसूरमा गुराँस गाउँपालिका–४ बराहका २२ वर्षीय धनबहादुर खड्कालाई ७ वर्ष र मतियारको कसूरमा त्यही गाउँका २६ वर्षीय भूपेन्द्र शाहीलाई साढे तीन वर्ष कैद गरेको हो ।

जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासबाट धनबहादुर खड्कालाई ७ वर्ष कैद, तीन लाख रुपैंयाँ जरिवाना र एक लाख रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिनुपर्ने र मतियार करार भूपेन्द्रलाई साढे तीन वर्ष कैद, डेढ लाख रुपैंयाँ जरिवाना र ५० हजार रुपैंयाँ पीडितलाई क्षतिपूर्ति तिनुपर्ने फैसला भएको छ ।

पीडित पक्षको उजुरी, पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन, प्रहरी अनुसन्धान र अदालती तहकीकातमा प्राप्त कागज प्रमाणबाट एक जनाले बलपूर्वक नियन्त्रणमा लिएको र अर्कोले बलात्कार गरेको ९ दिन अघि जेठ ११ गतेको पेसीमा कसूर ठहर भएको र आज सजाय निर्धारण इजलासबाट उक्त फैसला सुनाइएको दैलेख जिल्ला अदालतका निमित्त श्रेस्तेदार विकास विक्रम सिंहले जानकारी दिनुभयो ।

अघिल्लो वर्ष २०८१ वैशाख ६ गते साँझको समयमा छिमेकी जिल्लाबाट आफ्नो गाउँको एक विवाह कार्यक्रममा आएकी २५ वर्षीया युवतीलाई ती दुई जना मध्ये भूपेन्द्रले हात समाई नियन्त्रणमा लिएको र धनबहादुरले बतात्कार गरेको भनी पीडित पक्षले भोलिपल्टै वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख ७ गते नै दैलेख अस्पतालमा भएको थियो ।

घटना बारे प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकील कार्यालयले गत वर्ष ०८१ वैशाख ३१ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । मुद्दाको थुनछेक बहसपछि तत्तकालिन जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट धनबहादुर कारागार थुनामा र धरौटी छाड्ने आदेश अनुसार भूपेन्द्र शाही एक लाख रुपैंयाँ धरौटीमा छुटेका थिए ।

जिल्ला अदालतको थुनछेक विरुद्ध कसूरदारहरुले उच्च अदालत सुर्खेतमा साधारण तारेखमा छाडी पाऊँ भनी गरेको पुनरावेदनको सुनुवाई पछि उच्च अदालतले धरौटीमा छुटेका भूपेन्द्र समेतलाई कारागार थुनामा राख्नू भन्ने आदेश भएपछि दुवै जना पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा परेका थिए ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार