२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

माैलिक देउसी-भैलो देखाउनेहरु उपेक्षामा !



दैलेख – तिहारमा खेलिने देउसी, भैलोमा यस पटक मौलिकता जोगाउन ग्रामीण क्षेत्रका युवाहरु समूहहरुले भरथेक प्रयास गरेको देखिएको छ । ग्रामीण क्षेत्रको मौलिकतालाई सहरमा समेत प्रचारप्रसार गर्ने उद्देश्यले युवा समूहहरुले दैलेख सदरमुकाममा देउसी, भैलो देखाएका थिए ।

अछामको रहप, दुल्लूको मालिका र चामुण्डाबाट समेत दैलेख सदरमुकाममा प्रदर्शन गर्न ल्याइएको मौलिक प्रस्तूतीलाई सहरियाहरुले बेवास्ता गरेकोमा मालिकाका युवा प्रकाश शाहीले दुखेसो पोख्नुभयो । देउसी प्रदर्शन गरिरहेको बेला मोबाइल हेरेर बस्ने, दान दिन पनि बेवास्ता गरेको उहाँको गुनासो छ ।

चामुण्डाबाट ३२ जना युवाहरुको समूहको नेतृत्व गरेका मिलन शाहीको समूहले त्यहाँको हुड्के नाँच, ढोलक समेतको मौलिक भेषभूषाको साँस्कृतिक प्रस्तूती गर्दा समेत बजारियाहरुले न त मन लगाएको हेरे, उनीहरुल्े मन खोलेर दान नदिएको मिलनको टिप्पणी छ ।

‘हामी गाउँमा भए धेरै रकम संकलन गरिसक्थ्यौं, पूरा ४ दिन साँस्कृतिक प्रस्तूती गर्दा पनि दिनभर ५–७ हजार उठेन । उठेको जति खानबस्न खर्च भयो’ चामुण्डाको देउसी, भैलो टोलीकी अर्की सदस्य निर्मला बिश्वकर्माले भन्नुभयो । उति टाढाबाट आउँदा पनि वास्ता नगरेको देखियो उहाँको टिप्पणी छ ।

सदरमुकामका सबैजसाे युवाहरुले साउण्ड सिस्टमबाट गीत बजाउने, देउसीभैलो भट्याउने गरेको अवस्थामा ग्रामीण क्षेत्रबाट सदरमुकाम आएका युवाहरुले प्रदर्शन गरेको यो मौलिकताले सँस्कृति जोगाउने कुरामा समाजलाई शिक्षा दिएको प्रेस सेण्टरका जिल्ला अध्यक्ष रामकृष्ण कडायतले सुनाउनुभयो ।

 

प्रकाशित मिति : २०८१ कात्तिक १७ गते शनिबार