२०८३ जेठ २७ , बुधबार (2026 Jun 11, Thursday)

चुप्रामा विश्व उपभोक्ता अधिकार दिवस



दैलेख – ‘सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन’ नारा सहित दैलेखमा आइतबार विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखले डुंगेश्वर गाउँपालिका-१ स्थित चुप्राबजारमा उपभोक्ता अधिकार बारे सचेतना कार्यक्रम गरी दिवस मनाइएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले हरेक उपभोक्ताले दैनिक उपभोग्य बस्तुहरुमा हुन मिसावट, कमजोर गुणस्तर र नापतौलमा खबरदारी जनाउनपर्ने बताउनुभयो । सचेत नागरिकले खबरदारी बढाउने र प्रशासन कारवाही गर्न थालेमा उपभोक्ताहरुले गुणस्तरीय खाद्यबस्तु र उपभोग्य सामग्री पाउने प्रष्ट्याउनुहोला ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय दैलेखका कार्यालय प्रमुख शंकर थापाको अध्यक्षता भएको सचेतना कार्यक्रममा शाखा अधिकृत पर्शुराम आचार्यले उपभोक्ताको अधिकार र नागरिक दायित्व विषय र अधिकारकर्मी पत्रकार अमर सुनारले विश्व उपभोक्ता अधिकार दिवसको विषयमा सचेतना सामग्री प्रस्तूत गर्नुभएको थियो ।

त्यसबखत डुंगेश्वर गाउँपालिका-१ का कार्यवहादुर वडाध्यक्ष राजेश राना, त्रिवेणी संगम मावि चुप्राका प्रधानाध्यापक तेजबहादुर बिक, स्थानीय सामाजिक अगुवाहरु एकबहादुर राना, अमृता राना लगायत बजार भाउ, बस्तु तथा सेवाको गुणस्तर र सुलभताको निम्ति राज्यको तत्परता बढाउनपर्ने धारणा राख्नुभयो ।

सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकार घोषणा स्मरण गर्दै विश्वभर मार्च १५ तारिखमा यो दिवस मनाइन्छ ।  अहिले उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आवश्यकता र स्वच्छ वातावरणको अधिकार समेत थपिएकाे छ ।

प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार