२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

चाैकाेणात्मक प्रतिस्पर्धाकाे चर्चा



२०१५ सालका साँसद भक्तबहादुर शाही

दैलेख – २०१५ साल फागुन ७ गते भएको पहिलो प्रतिनिधिसभामा दैलेखको दुई भूगोल क्षेत्रबाट क्षेत्र नं. ७६ बाट भक्तबहादुर शाही र क्षेत्र नं. ७७ बाट नीरबहादुर पछाइँ नेपाली काँग्रेसबाट चुनाव जितेर साँसद बन्नुभएको थियो । झण्डै दुई वर्षपछि २०१७ साल पुस राजा महेन्द्र दलमाथि प्रतिवन्ध लगाउनुसंगै प्रतिनिधिसभा विघटन भयो ।

जननिर्वाचित संसद विघटनपछि राजा महेन्द्रले पहिलो पटक २०२२ सालमा प्रतिनिधिसभाको ठाउँमा राष्ट्रिय पञ्चायत नाम दिएर साँसद चुन्न थालेपछि झण्डै ३० वर्षको निर्दलीय पञ्चायती शासन कालमा भएका २०२८, २०३३, २०३८ र २०४३ भएमा भएका राष्ट्रिय पञ्चायतका चुनावमा दैलेखका दुई निर्वाचन क्षेत्रबाट ८ जना साँसद बन्नुभयाे।

२०४६ सालमा राजा बीरेन्द्रले दलमाथिको प्रतिवन्ध हटाएर प्रजातन्त्र घोषणा गरेपछि २०४८ सालमा भएको संसदीय निर्वाचनलाई प्रतिनिधिसभा निर्वाचन भनियो । २०४८ सालमा दैलेख क्षेत्र नं. १ बाट गणेशबहादुर खड्का र क्षेत्र नं. २ बाट रंगबहादुर शाही दुवै जनाले नेपाली काँग्रेसबाट जित्नुभयाे । त्यसयता दैलेखबाट १९ जना संघीय साँसद हुनुभयाे।

२०४८ पछि २०५१, २०५६, २०७४ र २०७९ मा प्रतिनिधिसभा, बिचको समय २०६३ मा अन्तरिम व्यवस्थापिका, २०६४ र २०७० को संविधानसभाका दुई निर्वाचनमा समेत १९ जनाले २४ जना साँसदको भूमिका लिनुभयाे । गणेशबहादुर खड्का ३ पटक, अम्मरबहादुर थापा २ पटक, राजबहादुर बुढा २ पटक र जग्गेबहादुर शाही पनि २ पटक साँसद बन्नुभयाे ।

२०७९ को प्रतिनिधिसभाकाे ५ वर्षे कार्यकाल ३ वर्ष नपुग्दै संसद विघटनपछि २०१५ काे पहिलो आमनिर्वाचन भएको चुनाव महिना फागुन पारेर २०८२ फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुदैछ । अघिल्ला निर्वाचनहरु भन्दा फरक परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा त्रिकोणात्मक प्रतिस्पर्धा, अब चार दलकाे कडा टक्करकाे आकलन गर्न थालिएकाे छ ।

प्रतिस्पर्धामा उम्मेदवार

दैलेखका दुई वटै निर्वाचन क्षेत्रमा पनि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको उत्साहपूर्ण सहभागितामा उम्मेदवारी मनोनयन दर्ता भएका छन् । दुवै निर्वाचन क्षेत्रमा ९ वटा राजनीतिक दलका १८ उम्मेदवार, क्षेत्र नं. १ मा एक जना र क्षेत्र नं. २ मा दुई स्वतन्त्र समेत २१ जना उम्मेदवारी परेको छ । सुरुमा जति जनाकाे उम्मेदवारी थियाे ती सबै कायम भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दिएको जानकारी अनुसार दैलेख क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट बासना थापा, नेपाली कम्यूनिष्ट पार्टीको उम्मेदवारको रुपमा निवर्तमान साँसद अम्मरबहादुर थापा, नेपाल मजदुर किसान पार्टी जगत बहादुर ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेत, राष्ट्रिय जनमोर्चाबाट नरबहादुर सिंहको उम्मेदवारी दर्ता भएको छ ।

आम जनता पार्टीकी मेनका श्रेष्ठ, राप्रपाका रणबहादुर सिंह, नेकपा एमालेबाट रबिन्द्रराज शर्मा, रामलाल बिश्वकर्मा, विप्लव समूह भनेर चिनिने नेकपा (माओवादी) पार्टीबाट राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष रामलाल बिश्वकर्मा र एक जना मात्र स्वतन्त्र व्यक्तिका रुपमा ६५ वर्षीय लोगबहादुर बोगटीको उम्मेदवारी परेको छ । क्षेत्र नंं. १ मा सबै भन्दा बढी ७० वर्षका निवर्तमान थापा दोश्रो ज्येष्ठतामा हुनुहुन्छ ।

निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार निर्वाचन क्षेत्र नं. २ मा राजमोका कमलबहादुर बरै मगर, नेमकिपाका बखतबहादुर थापा, विप्लव समूह नेकपा (माओवादी)का कलम सिंह, रास्वपाका बखतबहादुर शाही, नेपाली कम्यूनिष्ट पार्टीका योगेन्द्रबहादुर शाही, नेकपा एमालेबाट संविधानसभा सदस्य लक्ष्मीप्रसाद पोखरेल, राप्रपाकी बबिताकुमारी शाहीले उम्मेदवारी दिनुभएको छ ।

नेपाली काँग्रेसका दिक्पालकुमार शाही, आम जनता पार्टीकी तीर्थाकुमारी बंशीमगर, दुई जना स्वतन्त्र उम्मेदवारहरु ३८ वर्षीय लालबहादुर कठायत र २६ वर्षीय हिमबहादुर शाहीले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । क्षेत्र नंं. २ मा सबै भन्दा बढी उमेर नेपाली काँग्रेसका उम्मेदवार शाही र दोश्रोमा एमालेका पोखरेल ६३ वर्ष उमेर पुग्नुभएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार