२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

निष्पक्ष समाचार सम्प्रेषण गर्न पत्रकारलाई आग्रह



दैलेख – दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले पत्रकारहरुले निष्पक्ष भएर चुनावी गतिविधिका समाचार सम्प्रेषण गरिदिन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ दैलेख शाखाको समन्वय तथा प्रेस काउन्सिलको आयोजनामा दैलेखमा आयोजित निर्वाचन आचार सहिंता र मिडिया रिपोर्टिङ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश पाण्डेले दैलेखमा पत्रकारहरुको भूमिका सहयोगी पाएको उल्लेख गर्दै राम्रो कामको प्रचारप्रसार र त्रुटी भएका बेला समयमा सुझावको अपेक्षा रहेको बताउनुभयो । अन्तरक्रियामा उठेका सवालहरुको जवाफ दिंदै उहाँले निर्वाचन कानूनको परिधिको कारण शिक्षकहरुलाई मतदान अधिकृतमा खटाउन नसकेको प्रष्ट्याउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य निमा काफ्लेले निर्वाचनको बेला अझैं बढी सचेत भएर सूचनाको सत्यता जाँचेर मात्र समाचार बनाउन पत्रकारहरुलाई सुझाव दिनुभयो । दलगत र उमेदवारको स्वार्थ, दुरासय र उत्तेजनामा प्रतिस्पर्धीहरुलाई लगाइने आरोप, लान्छना, घृणाको अभिव्यक्तिहरुलाई मिडियाले रोक्नुपर्ने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले महासंघले आयोजना गर्ने पत्रकारहरुको क्षमता विकासमा कार्यक्रमहरुमा पत्रकारहरुको लगाव बढाउन आग्रह गर्नुभयो । दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले पत्रकारहरु समाचारहरु निष्पक्ष हुन सुझाव दिनुभयो । दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले सामाजिक सञ्जाललाई मात्र सूचनाको श्रोत नबनाउन आग्रह गर्नुभयो ।

महासंघका जिल्ला अध्यक्ष अमर सुनारको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रेस सेण्टरका जिल्ला अध्यक्ष तीर्थ भण्डारीले सामाजिक सञ्जालमा आउने मिथ्या सूचनाको जाँच र समाचार श्रोतको विश्वसनीयता बारे प्रस्तूत राख्नुभएको थियो । त्यसबखत जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले प्रतिनिधिसभा सदस्य पदको फागुन २१ गते हुने मतदानको व्यवस्थापकीय तयारी र जनशक्ति व्यवस्था बारे जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार