२०८३ भदौ २८ , आइतबार (2026 Sep 13, Sunday)

जनप्रतिनिधिले दलीय प्रचारमा सहभागी हुन नपाइने



दैलेख – ताेकिएकाे जिम्मेवारीका काम छोडेर दलीय चुनाव प्रचारमा जुटेको सिकायतपछि निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरुले दल र उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुन नपाइने परिपत्र गरेको छ । प्रतिनिधिसभा निर्वाचन आचारसहिंता २०८२ को दफा ५ को पालना गर्दै स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रचारमा जुट्न र साधनश्रोत दुरुपयोग गर्न नगर्न आग्रह गरिएको छ ।

आयोगले अर्को एक प्रेस विज्ञप्तीमा शिक्षण संस्थाका प्राध्यापक, शिक्षक, कर्मचारी, निजामती तथा सरकारी स्वामित्वका कर्मचारीलाई दलीय चुनाव प्रचारमा रोक लगाएको छ । प्रतिनिधिसभा निर्वाचन आचारसहिंता २०८२ को दफा १० को पालना गर्न सचेत गराइएको छ । शिक्षक, प्राध्यापक वा कर्मचारी चुनाव प्रचार गरेको पाइए दफा ४८ अनुसार कारवाही हुने विज्ञप्तीमा जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा दलका उम्मेदवारहरुले चुनाव चिन्ह भौतिक बस्तु लिएर हिड्न नपाइने आयोगले सूचित गरेको छ । निर्वाचन आचारसहिंताको दफा १३ ले चुनाव चिन्हको भौतिक बस्तु बोकेर प्रचारप्रसार गर्न आचारसहिंता विपरित हुने भएको कुनै पनि दल र उम्मेदवारले चुनाव चिन्हको भौतिक बस्तु नहिंडाउन पनि निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि, प्राध्यापक, शिक्षक, कर्मचारी, निजामती तथा सरकारी स्वामित्वका कर्मचारीलाई दलीय चुनाव प्रचारमा जुटेको जानकारी पाइएमा यथेस्ट प्रमाण सहित उजुरी गर्न दैलेखका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले आग्रह गर्नुभएको छ । सप्रमाण त्यस्तो उजुरी आएमा तुरुन्तै कारवाही हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ फागुन १२ गते मंगलबार