धादिङ – मध्यराति बस त्रिशूलीमा खस्दा १७ जनाको घटनास्थलमै मृत्यू भएको छ भने २४ जना घाइते भएका छन् । बसमा करिब ४६ यात्रु रहेको अनुमान गरिएको भए पनि संख्या अझै यकिन भइसकेको छैन ।
राति करिब साढे १ बजे बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसेकाे प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको थियो । साथै नेपाल प्रहरी र नेपाल सेनाको टोली पनि उद्धारमा परिचालित भएका थिए ।
मृत्यू भएका १७ जनाको शव घटनास्थलमै रहेको जनाइएको छ । रातिको समय भएकाले उद्धार कार्यमा कठिनाइ भएको प्रहरीकाे भनाइ छ । घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।
घाइते तथा मृतकको सनाखत हुन बाँकी रहेको र ती मध्ये २ जना विदेशी नागरिक रहेको बताइएको छ । दुर्घटनाको कारण भने अझै खुलेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्