दैलेख – नेपालगञ्जमा चार महिना लामो उपचारपछि घर फर्किएकी बिरामी आफू सवार एम्बुलेन्स बुधबार विहान दुर्घटना हुँदा गम्भीर घाइते भएकी छिन् । शुभेच्छुकहरुको आर्थिक सहयोग जुटाएर मस्तिष्कघात उपचार गरी फर्किएकी नौमूले गाउँपालिका-६ सल्लेरीकी ५५ वर्षीया भविसरा दर्लामी घर पुग्नै लाग्दा एम्बुलेन्समा गम्भीर घाइते हुनुभएको हो ।
घर फर्किएकी बिरामी भविसरा सहित ८ जनालाई लिएर आएको कर्णाली प्रदेश ०२००१ झ ०१०६ नम्बरको नौमूले गाउँपालिकाको एम्बुलेन्स नौमूले गाउँपालिका-५ गजमाली भन्ने ठाउँमा बुधबार विहान भएकाे दुर्घटनामा भविसराको टाउको र त्यही ठाउँका ६५ वर्षीय कर्णबहादुर दर्लामीको छातिमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स चालक नौमूले गाउँपालिका-५ सल्लेरी निवासी २६ वर्षीय इन्द्रबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा राखेकाे छ । अरु ६ जना सल्लेरीकै बासिन्दा ३५ वर्षीया पवित्रा सलामी, उहाँकाे छाेरा ५ वर्षीय छविलाल सलामी, ३३ वर्षीय अमर सलामी, २६ वर्षीया गीता योगी, ३३ वर्षीय दिपेन्द्र योगी र ४० वषीया देवीसरा योगी घाइते भएका छन् ।
घाइतेहरुलाई दुर्घटनास्थल नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि भविसरा र कर्णबहादुर समेत ४ जना बढी चोट लागेका घाइतेहरुलाई दैलेख अस्पतालमा पुर्याइएको छ । घाइतेहरुको उपचारमा डाक्टर टोली जुटिसकेको दैलेख अस्पतालका इञ्चार्ज डा. मनोज बिश्वकर्माले जानकारी दिनुभयो ।
उपचार गरी घर फर्किएकी बिरामी बोकेको एम्बुलेन्सले यात्रुवाहक जसरी धेरै मानिस बोकेको, रातिराति यात्राको थकानले चालक निदाएर दुर्घटना भएको हुनसक्ने धेरैले अनुमान गरेका छन् । यसअघि नै चालकले एम्बुलेन्स ठीक ढंगले नचलाएको भनी गत महिना स्थानीयहरुले गाउँपालिकामा तालाबन्दी गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्