दैलेख – माघ ७ गते विहान ९ बज्दै थियो दैलेख सदरमुकामको गणेशचोकदेखि अलि पर गैंटी, बेल्चा, सब्बल, कुटोकोदालो हातहातमा समाएर एक हुल मान्छेहरु पैदल डिभिजन वन कार्यालयको नजिकै मध्यपहाडी पार गरेर सिद्धकुवाको पाखातिर झरे । ४० जनाकाे हुल पाखातिर झरे झरेकाे देखेर वरपरबाट धेरैले चियाएर हेर्दै थिए ।
सानो खोल्सा परेको जस्तो ठाउँमा ५ मीटर दूरी नापेर वारी र पारी दुई समूहलाई काम बाँडेर खन्न थाले, खन्दै गर्दा खुकुलो भएको माटो बेल्चा लगाउने टोलीले हटायो । सब्बल र गैंटीले फेरि खन्यो, बेल्चा टोलीले माटो फाल्यो । यो क्रमम करिबकरिब २ मीटर लम्बाई २ मीटर चौडा, त्यति नै गहिरा वारी पारी खाल्डा तयार भए ।
कर्णाली प्रदेश सरकारले दैलेखका १० स्थानमा बनाउन लागेका झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका पदाधिकारी र सिस्त्रीहरुको नमूना पुल निर्माण तालिमका ४० जना सहभागीले ती खाल्डा बनाएका थिए । खाल्डा पार्न लगाएका साझेदार संस्था ग्रामीण विकास सेवा केन्द्रका प्राविधिकरुरुले टावर व्लकको तयार पार्ने अबधारणा बताए ।
पूर्वाधार विकास कार्यालयले आयोजना गरेको ६ दिने नमूना झोलुङ्गे पुल निर्माण तालिमका सहभागी पदाधिकारी र सिस्त्रीहरुले कच्ची जमिन भएकोतिर डेटमेन र कडा चट्टान भएको पारी पाखामा लठ्ठा अड्याउदै ड्रममा लठ्ठा कसेर जस्ताकोतस्तै झोलुङ्गे पुल निर्माण गरे ।
सबै सहभागीहरुले बालुवा बोक्ने, रोडी कुट्ने, सिमेण्टको मात्रा मिलाएर डेटमेन, ड्रममामा आरसीसीको काम, त्यहाँ ढुंगा भर्ने अनि टावर व्लकमा निर्माणका लागि पर्खाल लगाउन ढुंगा काट्ने पर्खाल लगाउने सम्मका काम पनि सहभागीहरु आफैले अभ्यास गरेर झोलुङ्गे पुल तयार गरेका हुन् ।
तालिमको पहिलो दिन माघ ६ गते योजना व्यवस्थापन, समन्वय, सहकार्य, सामग्री खरिद प्रक्रिया, कामदार प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, कामदारको सुरक्षा, कामदारको बीमा, हाजिर राख्ने, जिन्सी खाता अभिलेख तयार गर्ने विषय सिकाइएको थियो भने बाँकी ५ दिन झोलुङ्गे पुल निर्माणको अभ्यास गरिएको थियो ।
अभ्यास तालिममा साना नमूना सामग्री जोडेर झोलुङ्गे पुलमा तलका लठ्ठामा १ मीटर १० सेण्टीमीटरका क्रसबिन माथि २–२ मीटर लामा स्टीलबेग लम्बवत ३ वटा कस्ने अनि त्यसबाट मानिस हिड्न मिल्ने १ मीटर ६ सेण्टीमीटर चौडा पुलका दुबै साइडमा तलमाथिका लठ्ठालाई सन्तुलन राख्ने १ मीटर १० सेण्टीमीटरका सस्पेण्डर, सुरक्षाका लागि साइडमा जालीको औचित्य समेत तालिममै सहभागीले सिके ।
आफैले रेखदेख गरी झोलुङ्गे पुल निर्माण गर्न सक्ने अभ्यास तालिमले बनाएको डुंगेश्वर गाउँपालिका–६ को चित्रेकुना झोलुङ्गे पुल निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष कौशिला बुढाले बताउनुभयो । २० वर्षदेखि सिस्त्री काम गर्दै आएका मुथिगाउँ खोलीबजार झोलुङ्गे पुलका मिस्त्री बाला सुनारले झोलुङ्गे पुल निर्माणको तालिम पहिलो पटक पाउनुभयो, उहाँले पुल निर्माण र मर्मत सम्हारको सीप जानेको सुनाउनुभयो ।
झोलुङ्गे पुल निर्माण प्राविधिक विषय भएकोले गुणस्तरीय काम गराउन प्रयोगात्मक अभ्यास गराइएको पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख इञ्जिनियर प्रवीण कार्कीले बताउनुभयो । आफैले नमूना पुल निर्माण गरेका उपभोक्ताहरुले समुदाय परिचालन र जवाफदेहिता पनि बनाएको पत्रकार विकास सुनारको विश्वास छ ।
तालिमकाे प्राविधिक समन्वय गरिरहेको साझेदार गैसस ग्रामीण विकास सेवा केन्द्रका झोलुंगे पुल कार्यक्रमका कार्यक्रम संयोजक नविन शर्मा, सबइञ्जिनियरद्वय सुरज बुढा र तुलाराम बोहोराले झोलुंगे पुल निर्माण नमूना अभ्यासमा तालिम सहजीकरण गर्नुभएकाे थियाे । ग्रामीण विकास सेवा केन्द्र कर्णाली प्रदेशमा झोलुंगे पुल निर्माणमा दुई दशकदेखि काम गर्दै आएकाे एक मात्र गैसस हाे ।
यो वर्ष दैलेखका १० स्थानमा बन्ने झोलुङ्गे पुलहरु डुंगेश्वर गाउँपालिकाको वडा नं. १ र २ जोड्ने खाडा नजिक खडाखेत, डुंगेश्वर गाउँपालिकाको वडा नं.६ को चित्रेकुना, आठबीस नगरपालिकाको वडा नं. ३ को चौड जोगीढुंगा निमायल, ठाँटीकाँध गाउँपालिकाको वडा नं. ३ को गोठीखोला ट्रस, ठाँटीकाँध गाउँपालिकाको वडा नं. ३ कै ध्याप गोठीखोला झोलुंगे पुल छन् ।
त्यसैगरी ठाँटीकाँध गाउँपालिकाको वडा नं. ३ र चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. २ को मुथीखोला खोलीबजार, ठाँटीकाँध गाउँपालिकाको वडा नं. ६ को सियाली देउलीसिम, ठाँटीकाँध गाउँपालिकाको वडा नं. ५ र ६ को बालेखोला, भगवतीमाई गाउँपालिकाको वडा नं. ४ र ५ जोड्ने मलुका हितगल्ली र आठबीस नगरपालिकाको वडा नं. ५ को हुकाने गोर्खेमा पनि झोलुंगे पुल निर्माण गरिंदैछन् ।











प्रतिक्रिया दिनुहोस्