२०८२ माघ ५ , सोमबार (2026 Jan 19, Monday)

मेलभिन जयन्तीको अवसरमा सरसफाई



दैलेख – लायन्स इन्टरनेशनलका फाउण्डर मिलभिन जोनको १४७ औँ जन्मजयन्तीको अवसरमा लायन्स क्लव अफ दैलेखले सप्ताहव्यापाी सामाजिक सेवाका कार्यक्रमहरु गरिरहेको छ । पहिलो दिन बिहीबार बेद बिधा आश्रम धार्मिक बिद्यालयलाई खाद्यान्न सहयोग, दोश्रो दिन शुक्रबार राम मन्दिर हाताको बिरुवा गोडमेल र तेश्रो दिन शनिबार दैलेख अस्पताल हातामा सरसफाई कार्यक्रम गरिएको छ ।

बेद बिधा आश्रम धार्मिक बिद्यालयमा धार्मिक अनुष्ठान अध्ययन गरिरहेका बालबालिकाहरुलाई खाद्य बस्तु सहायता गरिएको, लायन्स क्लवले नै अघिल्ला वर्षहरुमा बृक्षारोपण गरिएको राम मन्दिर हाताको बिरुवा गोडमेल तथा सरसफाई र अस्पताल हाता तथा आसपासमा पर्यावरणीय स्वच्छतामा सघाउन सरसफाई गरिएको लायन्स क्लव अफ दैलेखका अध्यक्ष राजु खत्रीले पहरेदारलाई बताउनुभयो ।

दैलेख अस्पतालका इञ्चार्ज डा. मनोज बिश्वकर्मा तथा स्वास्थ्यकर्मी, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षण पुष्प रोकाय लगायत सुरक्षाकर्मीहरु, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार र लायन्स क्लव अफ दैलेखसंग आवद्ध समाजसेवीहरुको सहभागितामा दैलेख अस्पताल हातामा र आसपासमा सरसफाई गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

जोनको १४७ औँ जन्मजयन्तीको अवसरमा आइतबारदेखि बुधबारसम्मका बाँकी कार्यक्रमहरु आवश्यकता अनुसार तय गर्दै सामाजिक क्रियाकलापहरु गरिने लायन्स क्लव अफ दैलेखका सन् २०२०-२१ का अध्यक्ष हाल डिष्ट्रिक्ट चीफ खमबहादुर थापाले जानकारी दिनुभयो । नेपालभर लायन्सको बिस्तार गर्ने क्रममा लायन्स क्लव अफ दैलेखले ३२५ शाखा नामाकरण पाएको छ ।

प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार