२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

इन्सेकको अभिलेखीकरणले न्यायिक काममा सहयोग



दैलेख – जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानव अधिकार वर्षपुस्तकले अदालत र न्यायिक कार्यसम्पादन गर्ने प्रहरी, प्रशासन, सरकारी वकील कार्यालय लगायतका निकायलाई सहयोग पुगेको बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले दैलेखमा आइतबार आयोजना गरेको वर्ष पुस्तक घटनाहरुको वार्षिक पूर्वसमीक्षा कार्यक्रममा उहाँले मानव अधिकार वर्ष पुस्तकको अभिलेख र आम सञ्चार माध्यममा आउने समाचारले सरकारी काममा सजगता बढाएको चर्चा गर्नुभयो ।

कार्यक्रममा दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले इन्सेकको मानव अधिकार अभिलेखले समाज सचेतना बढाएको र यसले शान्ति सुरक्षा सवलीकरणमा सघाएको बताउनुभयो । त्यसबखत नेपाल बार एशोसियसन दैलेखका अध्यक्ष प्रेमबहादुर थापाले अदालतबाट फैसला नआउदासम्म सार्वजनिक प्रकाशनमा नलिन सुझाव दिनुभयो ।

पूर्वसमीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले व्यक्ति हत्याका ६, कुटपिट अभद्र व्यवहार ९, बालबालिका कुटपिट २, बालविवाह ५, बालिका बलात्कार २३, बाल यौन दुव्र्यवहार ३, महिला बलात्कार ५, घरेलु हिंसा १९, आत्महत्या दुरुत्साहन ४, ज्यानमार्ने उद्योग ११ समेत ८७ वटा घटना अभिलेखीकरण भएको जानकारी दिनुभयो ।

गैसस महासंघ दैलेखका अध्यक्ष डिलकुमारी चन्दको अध्यतामा भएको पूर्वसमीक्षा कार्यक्रममा पत्रकार र नागरिक समाजका अगुवाहरुले मानव अधिकार हनन् र ज्यादती रोक्न प्रहरी प्रशासनको प्रयाय तथा सहकार्यता बारे प्रश्न राखेका थिए ।

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार