२०८३ जेठ २६ , मंगलबार (2026 Jun 9, Tuesday)

जुनियर रेडक्रस सर्कलका लागि गोष्ठी



दैलेख – नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाको आयोजना जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलका लागि दुई दिने गोष्ठी भगवतीमाई गाउँपालिका७ बडाभैरबमा आजदेखि सुरु गरेको छ । भगवतीमाई गाउँपालिकाका ७ वटै वडाका १४ वटा विद्यालयका जुनियर रेडक्रस सर्कल र समुदायमा आधारित युवा रेडक्रस सर्कलका पदाधिकारीहरुको सहभागिता छ ।

गोष्ठीको उद्घाघाटन कार्यक्रममा कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्रीले विद्यालय तहका बालबालिकालाई रेडक्रसको मानवता र स्वयमसेवा भावना बारे अभिमुखीकरणले समाजसेवी असल नागरिक बन्न प्रेरित गर्ने बताउनुभयो । भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले रेडक्रसको सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाले पुर्‍याएको सेवा बारे प्रशंसा गर्नुभयो ।

भैरब मावि जुनियर रेडक्रस सर्कलका अध्यक्ष बखत खड्काको अध्यतामा भएको गोष्ठी उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका सभापति निर्जनकुमार खत्री, भगवतीमाई उपशाखाका सभापति कृष्णप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनार, भगवतीमाई गाउँपालिका७ का वडाध्यक्ष पूर्णबहादुर थापा, भैरब मावि खोरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर सुनार लगायतले गोष्ठीको महत्व बारे प्रकाश पार्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले भगवतीमाई गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाले १, २ र ४ नं। समेत तीन वटा वडाका २ सय घरधुरीलाई स्वच्छ खानेपानी सुविधा लगायतका मानवतावादी शिक्षा सहयोगबाट झण्डै ६ हजारले प्रत्यक्ष लाभ पाएका परियोजना संयोजक शैलेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार