२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

रेडक्रसका काममा सहकार्य समन्वय बैठक



दैलेख – नेपाल रेडक्रस सोसाइटीले गर्ने मानवतावादी परोपकारी काममा सहकार्यता बढाउन बिहीबार दैलेखमा जिल्ला स्तरीय समन्वय बैठक भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नमराज शाही लगायतका दैलेखका ११ पालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी आनन्द सारु लगायतका सुरक्षा अधिकारी र सरोकारवाला समेतको उपस्थितिमा बैठक भएको थियो ।

समन्वय बैठकमा नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले भगवतीमाई गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाले १, २ र ४ नं. समेत तीन वटा वडाका २ सय घरधुरीलाई स्वच्छ खानेपानी सुविधा लगायतका मानवतावादी शिक्षा सहयोगबाट झण्डै ६ हजारले प्रत्यक्ष लाभ पाएका परियोजना संयोजक शैलेश श्रेष्ठले जानकारी दिनुभयो ।

रेडक्रस दैलेख शाखाको ४ दशक लामो मावन सेवा अभियानमा विपदको राहत तथा पुनर्स्थापना, हजारौं नागरिकलाई दक्ष जनशक्तिबाट आँखाको उपचार सेवा, विपद प्रतिकार्य योजनामा सरकारका निकायहरुलाई सघाएको जस्ता धेरै काम गरेको नेपाल रेडक्रस दैलेख शाखाका अध्यक्ष निर्जनकुमार खत्रीले बताउनुभयो । रेडक्रसको दैलेख शाखामा ६ सय भन्दा बढी आजीवन सदस्य छन् ।

जिल्ला समन्वय प्रमुख नमराज शाही, डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसी, रेडक्रसका पूर्वसभापति खेमराज केसी, दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, दुल्लू नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक बिक, चामुण्डाबिन्द्रासैनी नगरपालिका८ का वडाध्यक्ष रत्नबहादुर शाहीले विपदमा रेडक्रस र सरोकारवालावीचको सहकार्य बारे आआफ्नो धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार