२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक लोकार्पण



ललितपुर – नेपाली संगीत क्षेत्रका सुप्रसिद्ध गायक तथा संगीतकार नारायणगोपाल गुरुवाचार्यको जीवनीमा बारे लेखक प्रकाश सायमीले लेख्नुभएको ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकको मंगलबार एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।

वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमा, वरिष्ठ संगीतकार कर्म योन्जन, सीके रसाइली, कलाकारहरु नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मञ्जु थापा, बसुन्धरा भुसाल, लेखक प्रकाश सायमीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले बायोग्राफी लेख्नु चुनौतीपूर्ण काम भएको र लेखक सायमीको प्रयासको प्रशंसा गर्दै पुस्तकलाई पठनीय र रोचक रहेको बताउनुभयो । लेखक सायमीले नारायणगोपालको जीवन र व्यक्तित्वलाई संक्षिप्तमा प्रस्तुत गर्न यो पुस्तक तयार गरेको बताउनुभयो ।

अभिनेता सरोज खनालले नारायणगोपालको संगीतले उनलाई अमर बनाएको र उनी हरेक नेपालीको हृदयमा जीवित रहेको चर्चा गर्नुभयो । वरिष्ठ गीतकार नगेन्द्र थापाले यो पुस्तक भबिष्यका अनुसन्धानकर्ताहरूका लागि कोशेढुंगा साबित हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार