२०८२ मंसिर २३ , मंगलबार (2025 Dec 9, Tuesday)

नयाँ मतदाता नाम दर्तामा उत्साह देखिएन



दैलेख – आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नयाँ नामदर्ता खुला गरेकोमा दैलेखमा चाहिँ अपेक्षाकृत नयाँ मतदाता थपिएका छैनन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखमा आज आयोजना गरेको छलफल कार्यक्रममा यो तथ्य थाहा भएको हो ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख नरबहादुर सलामीले भन्नुभयो ‘नयाँ मतदाता नाम दर्तामा खुला भएको एक महिना अवधिमा डेढ सय मात्र पुगेको छ, सोचे जस्तो नयाँ मतदाता आएका छैनन् । निर्वाचन घोषणापछि अकस्मात नयाँ मतदाता नाम दर्ता खुलेकोले पनि कम मतदाता आएका हुन् ।’

आयोगले नयाँ नाम दर्ता खुलाएको एक महिनामा छिमेकी जिल्ला जाजरकोटमा एक सय ३७, कालिकोटमा दुई सय तीन, सुर्खेतमा पाँच सय ७५ र अछाममा पाँच सय आठ जना नयाँ मतदाता थपिए पनि तुलनात्मक रुपमा दैलेखमा उत्साह कम देखिएको छ ।

मतदाता नामालीमा नाम दर्ता गराएहरुले मतदान वाहेक अन्यत्र कतै काम नपर्ने, जिताएर पठाएका जनप्रतिनिधिहरुले विकासका लागि उत्साहप्रद काम नगरेको, मनोमानी र पक्षपाती काम गरेका भन्ने निरासाका कारण पनि मतदाताहरु नयाँ नाम दर्ता गराउन इच्छुक नदेखिएका सहभागीहरुले बताए ।

राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा, जिल्ला निर्वाचन कार्यालय समेत सरोकारवाला निकायको सहभागिता रहेको छलफल कार्यक्रममा मतदाता स्वयम्मा जागरुकता, स्थानीय तह र राजनीतिक दलहरुको सहजीकरणमा नयाँ मतदाता नाम दर्तामा बृद्धि गराउन पहल गर्ने छलफलको निष्कर्ष निकालिएको थियो ।

त्यसबखत जिल्ला निर्वाचन कार्यालय दैलेखका कम्प्यूटर अप्रेटर मदन लामिछानेले निर्वाचन आयोगको वेभसाइडमा अनलाइनमा नयाँ मतदाता नाम दर्तामा विवरण भर्ने तरिका, निर्वाचन कार्यालयमा पुगी फोटो खिच्ने र डिजिटल औंठा छाप प्रणाली विषयमा प्रयोगात्मक अभ्यास देखाउनुभएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष सन्देश श्रेष्ठ, एमालेका यामनारायण उपाध्याय, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य भेषराज थापा, रास्वपाका ऐनबहादुर शाही, नेकपा एसका पृथ्वी केसी, राप्रपाका उपाध्यक्ष रणबहादुर सिंहले राजनीतिक दलहरुले नयाँ थप्न पहल गर्ने बचन दिनुभयो ।

नेपाल बारका जिल्ला अध्यक्ष प्रेमबहादुर थापा, गैसस महासंघका जिल्ला अध्यक्ष डिलकुमारी चन्द, अधिकारकर्मीहरु सविना बिक, रेशम बिश्वकर्मा, पत्रकारहरु विशाल सुनार, तीर्थ भण्डारी, जेन्जी प्रतिनिधि हिमराज बस्नेत र लोकेश गिरीले समुदायमा मतदाताको महत्व बुझाउन पर्ने आवश्यक औंल्याउनुभयो ।

त्यसबखत जिल्ला निर्वाचन कार्यालय दैलेखका कम्प्यूटर अप्रेटर मदन लामिछानेले निर्वाचन आयोगको वेभसाइडमा अनलाइनमा नयाँ मतदाता नाम दर्तामा विवरण भर्ने तरिका, निर्वाचन कार्यालयमा पुगी फोटो खिच्ने र डिजिटल औंठा छाप प्रणाली विषयमा प्रयोगात्मक अभ्यास देखाउनुभएको थियो ।

नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष समेत रहेका इन्सेक जिल्ला प्रतिनिधि अमर सुनारले कार्यक्रम सहजीकरण गर्दै कात्तिक ३० गतेसम्म नयाँ मतदाता नाम दर्ता खुला गरेकोले समयमा नाम दर्ता गराउन समुदायका अगुवाहरुले पहल गर्नुपर्ने आग्रह गर्नुभयो ।

प्रकाशित मिति : २०८२ कात्तिक १२ गते बुधबार