दैलेख – नारायण नगरपालिकाका मेयर लोमन शर्माले दैलेख प्रशासनले सेवा प्रवाहमा ल्याएको सुधारको प्रशंसा गर्नुभएको छ । नागरिकता सिफारिस सम्वन्धी अनलाइन प्रणाली अभ्यास तालिममा उहाँले जिल्ला प्रशासन कार्यालयले गर्न लागेको सूचना प्रविधि सुविधा असल अभ्यास भएको बताउनुभयो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सरकारी कामलाई छिटो छरितो र प्रविधि मैत्री बनाउन नागरिकता सिफारिसलाई अनलाइन प्रणाली लिन लागिएको बताउनुभयाे । त्यसबखत जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ऋषिराम उपाध्यायले तालिमको महत्वबारे बोल्नुभएको थियो ।
तालिममा दैलेखका ११ वटै स्थानीय तहका सूचना प्रविधि अधिकृत र नारायण नगरपालिकाका ११ वटै वडाका वडासचिवहरुको सहभागिता थियो । नारायण नगरपालिकाका सबै वडासचिवहरुलाई याे तालिममा सिकाइएकाे र अरु पालिकाहरुमा सूचना प्रविधि अधिकृतहरुले सम्बन्धित पालिकामै वडासचिवहरुलाई अभ्यास तालिम दिइने याेजना छ ।
जिल्ला प्रशासन कार्यालयका कम्प्यूटर अप्रेटर प्रकाश थापाले अनलाइन प्रणालीबाट नागरिकता सिफारिसका लागि भर्ने सेवाग्राहीकाे विवरण सहितको अनुसूची फाराम, वडाको सिफारिस लगायत कागजजात अपलोड गर्ने प्रक्रिया बारे सहजीकरण गर्नुभएको थियो । अनलाइन प्रणालीमा वडा कार्यालय, सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयकाे समन्वय पद्धति विषयमा प्रयाेगात्मक अभ्यास गराइएकाे थियाे ।
जिल्ला प्रशासन कार्यालयले नारायण नगरपालिकामा कात्तिक पहिलो साता र अरु पालिकाहरुमा कात्तिक तेश्रो सातादेखि अनलाइनबाट नागरिकता सिफारिस लागू हुने बताइएको छ । नागरिकता सिफारिस गर्ने प्रणालीलाई ‘केन्द्रीकृत नागरिक सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस)’ भनिएको छ ।
नेपालमा यस अघि नवलपरासी पूर्व, महोत्तरी, बागलुङ, कैलाली, तेह्रथुम, झापा, नवलपरासी पश्चिम, पाल्पा, इलाम, कास्की, डडेल्धुरा, पर्वत, स्याङ्जा, दार्चुला, सुर्खेत, अर्घाखाँची, कञ्चनपुर, भरतपुर र चितवन समेत १९ जिल्लामा अनलाइनबाट नागरिकताको सिफारिस गर्ने प्रणाली सुरु भइसकेको छ ।











प्रतिक्रिया दिनुहोस्