आईसिसी टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ । ओमानमा समूह चरणको अन्तिम खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ ओभरमा पूरा गरेर जित्न सफल भयो ।
खेलामा नेपालका लागि ओपनरद्वय कुशल भुर्तेलले २१ बलमा २१ रन र आसिफ शेखले २१ बलमा ३८ रन बनाए। दुवै ओपनर आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो । कप्तान रोहिकुमार पौडेल १८ रन, सन्दीप जोरा ५ रन र कुशल मल्ल ४ रनमा आउट भएका थिए ।
गुल्सन झाले २० बलमा नटआउट २८ रन र दीपेन्द्रसिंह ऐरीले १४ बलमा नटआउट १४ रन बनाए । गुल्सनले १ चौका र २ छक्का प्रहार गरे । बलिङमा जापानका शोमा स्लाटरले २ विकेट लिए । त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जापानले ८ विकेटको क्षतिमा १३१ रन जोड्यो ।
जापानका लागि ओपनर तथा कप्तान कोडावाकी फ्लेमिङले ४६ बलमा ६० रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै इशम रहमानले २५ बलमा १ चौका र २ छक्काको मद्दतमा ३१ रन बनाए । उनीहरुबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो ।
खेलमा १३ औं ओभरको पाँचौ बलमा रहमानलाई सोमपाल कामीले आउट गरेपछि नेपाल खेलमा फर्कियो। अर्को ओभरमा फ्लेमिङलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच गराएपछि नेपालले जापानलाई दबाब दियो । चौथो बलसम्म एक विकेट मात्र गुमाउँदा ९७ रन जोडेको जापानले थप ३४ रन बनाउँदा ७ विकेट गुमायो ।
उक्त खेलामा बलिङमा नेपालका गुल्सन झा र सन्दीप लामिछानेले २–२ विकेट लिए। गुल्सनले ४ ओभरमा १ मेडन राख्दा २० रन खर्चिए। पहिलो दुई ओभरमा खर्चिलो बनेका सन्दीपले पछिल्लो दुई ओभरमा किफायती बलिङ गरेका थिए। उनले ४ ओभरमा २५ रन दिए । नन्दन यादव र सोमपाल कामीले १–१ विकेट लिएका थिए ।
यसअघि नै सुपर–६ मा पुगिसकेका दुबै टोली आजको जितसँगै नेपालले दुई अंक जोडेको छ । अबको खेलमा नेपालले सुपर–६ मा अरू चार टोलीसँग खेल्नेछ। युएई र कतारले सुपर–६ मा स्थान पक्का गर्दा बाँकी दुई टोली आज राति ओमान र पिएनजीबीच हुने खेलपछि टुंगो लाग्नेछ ।
अब चाहिँ छ टोलीबीच हुने सुपर–६ को शीर्ष तीनमा पर्न सक्ने टोलीहरू आगामी वर्षको फेब्रुअरी–मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी–२० विश्वकप २०२६ मा मा स्थान पक्का गर्नेछन् । अब हुने शीर्ष तीन टोलीमा परेमा नेपाली टोली लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक आइसिसी टी–२० विश्वकपमा छनोट हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्