२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

शनिबार र आइतबार भारी वर्षाकाे सम्भावना



काठमाण्डौं – भोलि शनिबार दिउँसोदेखि शुरु हुने भारी वर्षाले प्रभावित क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम हुनसक्ने भन्दै मौसमविद्हरुले जोखिमयुक्त ठाउँहरुमा राजमार्ग बन्द गरिदिनु नै उपयुक्त हुने सुझाव दिएका छन् ।

अरुबेला सामान्य झरीका बेलामा पनि बाढी र पहिरोको जोखिममा रहेका क्षेत्रहरुमा नै भारी वर्षाको सम्भावना देखिएको भन्दै उनीहरुले जनहितका लागि पूर्वतयारी स्वरुप राजमार्ग बन्द नै गर्नु उचित हुने सुझाव दिएका हुन् ।

मौसमविद्हरुले अनुसार, दशैंको हिजोदेखि नै सामान्य झरी परेको थियो भने विहीबार अपराह्नदेखि काठमाडौं लगायतका ठाउँमा पानी पर्ने सम्भावना छ । भारतको उडिसा नजिकैबाट विकसित भएको प्रणाली बिहार हुँदै शनिबार बिहानदेखि नेपाल भित्रिनेछ, जसले केही ठाउँमा भारी वर्षा गराउने अनुमान छ ।

भारतको मौसम विज्ञान विभागले आजदेखि नै बिहार क्षेत्रमा अति भारी वर्षाको जोखिममा रहेको भनी अलर्ट जारी गरेको छ । त्यहाँ विकसित भएको प्रणाली वीरगञ्ज आसपासको क्षेत्र हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने मौसमविद्हरु बताउँछन् । पश्चिममा बुटवलदेखि चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै पूर्वतिर बढी प्रभाव पार्ने अनुमान गरिएको छ ।

शनिबार र आइतबारसम्म सक्रिय हुँदै सोमबारतिर मन्सुन नेपालबाट बाहिरिने मौसममा क्रमिक सुधार हुन सोमबार बिहानसम्म लाग्ने मौसमविद्हरुको आँकलन गरेका छन् । अघिल्लो वर्ष मौसम पूर्वानुमानका सूचनालाई बेवास्ता गर्दा गत वर्ष असोज ११ र १२ गते काठमाण्डौं लगायत पूर्वी नेपालमा ठूलो धनजनको क्षति भएको थियो ।

प्रकाशित मिति : २०८२ असोज १७ गते शुक्रबार