
दैलेख – नेकपा एमालेको भ्रातृसंगठन अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष संविधानसभा सदस्य टुकाभद्रा हमालले महिलाहरु भइरहेको शोषणबाट मुक्ति पाउन महिलाहरुले अगुवाई गर्नुपर्ने बताउनुभएको छ । संघको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो ‘पहिलेको भन्दा सुधार भए पनि महिला माथि हिंसा र विभेद अझैं हटेको छैन ।’
अध्यक्ष हमालले भन्नुभयो ‘राणा शासन, पञ्चायत र प्रजातन्त्र पुनस्र्थापनापछि पनि महिला माथि हिंसा, विभेद, असमानता सबै हट्न सकेको छैन । विभेद र हिंसा विरुद्ध महिलाहरु चुल्होचौकाबाट वाहिर निस्कन सके मात्र मुक्ति सफल हुनसक्छ । यसका लागि महिलाहरु राजनीतिमा सक्रिय भूमिका र राजनीतिक दलको नेतृत्वमा पुग्न जरुरी छ । मुक्ति तब मात्र संभव छ ।’
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पूर्वसाँसद लक्ष्मीप्रसाद पोखरेलले भन्नुभयाे ‘पूर्वराष्ट्रपति विद्या भण्डारी पुनः राजनीतिमा फर्किए उहाँको सम्मानमा कमी नआओस् हामीलाई चिन्ता छ ।’ अनेमसंघका केन्द्रीय सचिव मीना सिंह रखालले कर्णालीका महिलाहरु अझ धेरै विभेद र असमानताहरु देखिएकोले उत्पीडनबाट छुटकारा पाउन निरन्तर संघर्ष जरुरी रहेको बताउनुभयो ।
उक्त अवसरमा अनेमसंघका केन्द्रीय उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य सुमित्रा बीसी, अनेमसंघका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका पूर्वसाँसद पार्वती बिशुन्के, अनेमसंघका केन्द्रीय सदस्य एवं दैलेख इञ्चार्ज लक्ष्मी कार्की, अनेमसंघका कर्णाली प्रदेश अध्यक्ष पदमा खड्का समेतले अनेमसंघ र महिला मुक्तिको आन्दोलनको प्रभाव बारे बोल्नुभएको थियो ।
अनेमसंघका जिल्ला अध्यक्ष तप्ताकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका कर्णाली प्रदेश उपसचिव पूर्वसाँसद रबिन्द्रराज शर्मा, पार्टीका कर्णाली प्रदेश समितिका सदस्यहरु गमता बिक, लोमन शर्मा, बिष्णु थापा, तेजबहादुर चन्द, बरुनाथ योगी, रत्नबहादुर खड्का लगायतका नेताहरुको सहभागिता थियो । अधिवेशनले सोमबार नयाँ नेतृत्वको निर्वाचन गराउने कार्यसूची रहेको अनेमसंघका जिल्ला सचिव सीता शाहीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्