
दैलेख – पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको आज २१ वर्ष पूरा भएको छ । सशस्त्र द्वन्द्वको समयमा तत्कालिन युद्धरत पक्ष नेकपा माओवादीले आफ्नो नियन्त्रणमा राखेको ४५ दिनमा २०६१ साउन २७ गते अहिलेको नौमूले गाउँपालिका–३ द्वारीमा हत्या गरेको थियो ।
अदालतले समेत मुख्य दोषी ठहर गरी २० वर्षे जन्मकैद तोकेका कसूरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ ‘मुक्ति’ भन्ने बमबहादुर खड्का प्रहरीको सूचीमा फरार अभियुक्त र अदालतको लगतमा कैद असुली गर्नुपर्ने कसूरदारमा सूचीकृत छ ।
दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष समेत रहेका थापालाई मुहान मर्मतका लागि त्यसतर्फ जान लागेको बेला २०६१ असार १२ गते माओवादी कार्यकर्ताहरुले अपहरण गरेका थिए ।
अपहरणको ४५ दिनपछि २०६१ साउन २७ गते थापाको हत्या भएको थियो । पत्रकार मासिएको भन्दै त्यतै बेला माओवादीको कडा आलोचना भएकोले थापालाई गाडिएको ठाउँ समेत गोप्य राखेका थिए ।
शान्ति प्रक्रियापछि अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगले २०६५ साउन १३ गते नौमले गाउँपालिका–३ द्वारीमा गाडिएको थापाको शव उत्खनन् गरिएपछि न्यायिक प्रक्रिया सुरु भएको थियो ।
घटनाको ४ वर्षपछि थापाको कंकालको बैज्ञानिक परीक्षणपछि २०६५ साउन १८ गते हिन्दूर धार्मिक परम्परा अनुसार श्रीस्थानमा दाहसंस्कार गरिएको थियो । घटना बारे थापाकी धर्मपत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा ९ जना विरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।
सशस्त्र युद्धकालिन समयको घटना भएकोेले बिस्तृत शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्ने भन्दै माओवादी पक्षले दिएको दवावका कारण मुद्दा चल्न सकेको थिएन ।
पत्रकारहरुको निरन्तर दवावपछि २०६९ पुस २० गते प्रहरीले हत्यामा संलग्न भनिएका ९ जना मध्ये ५ जनालाई निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
पक्राउ परेकाहरुका सन्दर्भमा २०७१ मंसिर २१ गते तत्कालीन जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले निरकबहादुर घर्ती, हरिलाल पुन र जयबहादुर शाहीलाई दुई–दुई वर्ष तथा लक्षिराम घर्तीमगरलाई एक वर्ष ६ महिना र बीरबहादुर केसीलाई एक वर्षको कैद सजाय सुनाएको थियो । उनीहरुले कैद भुक्तान गरी सकेका छन् ।
उक्त फैसलामा जिल्ला न्यायाधीश श्रेष्ठको आरोपित साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का समेत ४ जना पक्राउ परेको बखत मुद्दा जगाउन सकिने गरी मुल्तवीमा राख्ने फैसला सुनाएको थियो ।
प्रहरीले घटनमा दोश्रो दोषी साविकको छिउडीपुसाकोट गाविस–१ हाल दुल्लू नगरपालिका–६ का यी ‘अरुण’ भन्ने बमबहादुर खड्का घटनाको १७ वर्षपछि २०७६ फागुन २१ गते पक्राउ गरेको थियो । थुनछेक बहसपछि त्यही दिन दैलेख कारागार चलान गरेको थियो ।
‘अरुण’ भन्ने बमबहादुर खड्का पक्राउ परेको दुई वर्षपछि घटनामा संलग्न भएका अरु थप तीन जना कसूरदार समेतको विषयमा २०७८ मंसिर २६ गते अरुण र हालसम्म फरार भनिएका तीन जना उपरको मुल्तबीबाट हटाई सजाय तोकिएको थियो ।
फैसलामा फरार तीन जना कसूरदार साविकको कट्टी गाविस—७ हाल भगवतीमाई गाउँपालिका–६ ‘मुक्ति’ भन्ने बमबहादुर खड्का, साविकको छिउडीपुसाकोट गाविस–७ हाल दुल्लू नगरपालिका–६ का केशव खड्कालाई जनही २० वर्ष जन्मकैद भएको छ । पछिल्लो फैसलामा अनुसार बाँकेको कोहलपुर नगरपालिका–३ का भक्तिराम लामिछानेलाई तीन वर्ष कैदको फैसला सुनाइएको थियो ।
अपहरण गरेको डेढ महिनापछि २०६१ साउन २७ गते साविकको द्वारी गाविस–१ नेपाल राष्ट्रिय आधारभूत विद्यालयभित्र दिइएको यातनाको कारण ज्यान गएका पत्रकार थापा त्यसबेला थापा ३३ वर्षका हुनुहुन्यो । त्यसबेला उहाँ रेडियो नेपालको दैलख सम्वाददाता हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्