२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

म्याद नाघेका खाद्यबस्तु जफत



दैलेख – जिल्ला प्रशासन कार्यालयले दैलेख सदरमुकामको पुरानो बजारमा सोमबार आकस्मिक रुपमा बजार अनुगमन गरेको छ । अनुगमनको क्रममा फेला परेको अखाद्य बस्तु, म्याद नाघेका खाद्यबस्तु जफत गरी आगोले पोल्ने र जमिनमा गाडी नष्ट गरेको छ ।

जफत गरिएका बस्तुहरुमा मिरिण्डा नामको पेय पदार्थ, कुरमुरे र कबिकस जस्ता जङफुड र मसलाहरु गरी करिब ९ हजार रुपैंयाँ भन्दा बढीको अखाद्य बस्तु नष्ट गरिएको बजार अनुमगन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले जानकारी दिनुभयो ।

बजार अनुगमनको क्रममा सदरमुकामको पुरानोबजारमा म्याद नाघेका खाद्यबस्तु धेरै फेला परेका बताइएको छ । कर्णाली राजमार्ग र पालिका मुकामहरुमा त्यति धेरै नदेखिएन तर पुरानाे बजारमा म्याद नाघेका खाद्यबस्तु धेरै फेला पर्नुकाे मुख्य कुरा यहाँ व्यापार घटेकोले म्याद नाघेका बस्तु फेला परेका दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो ।

बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसी, नेपाल पत्ररका महासंघका जिल्ला अध्यक्ष अमर सुनार, दैलेख उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर श्रेष्ठ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रतिनिधि गोविन्द खत्री, प्रहरी सहायक निरीक्षक प्रकाश सिंह ठकुरी लगायतको प्रतिनिधित्व थियो ।

जिल्ला प्रशासन कार्यालयले बेलाबेला विभिन्न पालिकाहरुमा पुगेर बजार अनुगमन गर्दै आएको छ । यसले उपभोक्ताहरुमा सचेतना बढेको र व्यापारीहरुमा समेत सजगता बढाएको तर यत्तिले सन्तोष मान्नुपर्ने स्थिति नभएको, अनुगमनलाई निरन्तरता दिनुपर्ने उपभोक्ता अधिकारवादीहरुको टिप्पणी छ ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार