२०८२ असार १५ , आइतबार (2025 Jun 29, Sunday)

दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास भएको पुष्टि



दैलेख – भैरबी गाउँपालिका-१ जलजलेमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको छ । चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीवु इन्जिनियरिङ कम्पनीले गरेको ड्रिलिङ कार्यको प्रारम्भिक प्रतिवेदन अनुसार १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यास भएको पत्ता लागेको पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले जानकारी दिनुभयो ।

यो परिमाण दैलेखका ४ वटा सम्भावित कुवामध्ये पहिलो कुइँकानको मात्रै प्रारम्भिक नतिजा हो । बाँकी ३ कुइँकानको प्रारम्भिक अनुमान अनुसार जलजले क्षेत्रमै कुल ४ सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ । यसले झन्डै ५० वर्षसम्म नेपालको ग्यास आवश्यकतालाई पूरा गर्नसक्ने खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक परियोजनाका प्रमुख नापितले बताउनुभयो ।

२०७८ साल वैशाख २८ गतेदेखि शुरू भएको पहिलो ड्रिलिङ कार्य ४ हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । त्यहाँबाट सङ्कलन गरिएका नमूनाको परीक्षणमा मिथेन ग्यासको भण्डारणबारे थाहा भएको हो । यो नेपालमा अहिलेसम्मकै सबैभन्दा गहिरो र वैज्ञानिक रूपमा सम्पन्न भएको पहिलो अन्वेषण परियोजना हो । चिनियाँ कम्पनीले अन्तिम प्रतिवेदन दिएपछि व्यावसायिक उत्पादन परीक्षण शुरू गर्ने योजना रहेको विभागले जनाएको छ ।

मिथेन ग्यास पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । दैलेखका विभिन्न ठाउँहरूमा आगोको ज्वाला बल्ने गरेको छ । स्थानीय बासिन्दाले दैवी शक्ति भन्दै पूजा गर्दै आएकामा वैज्ञानिक अध्ययनबाट मिथेन ग्यास भएको पुष्टि भएको हो । चिनिया कम्पनीले अन्वेषण कार्य थालेदेखि अन्वेषण स्थलमा हेर्ने र फोटो खिच्ने आन्तरिक पर्यटकहरु बढेका छन् ।

प्रकाशित मिति : २०८२ असार ४ गते बुधबार