२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

मानव अधिकार रक्षकहरुको सुरक्षा सवालमा छलफल



दैलेख – मानव अधिकार रक्षकहरुको सुरक्षा सवाल विषयमा सराकारवालावीच छलफल भएको छ । यूरोपियन यूनियनको राजदूतावासका राजनीतिक विभाग प्रमुख टोमास मिलर सहितको उपस्थितिमा दैलेख सदरमुकाममा बुधबार नागरिक समाज र सुरक्षा अधिकारीहरुसंग त्यस्तो छलफल भएको भएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा फिनल्याण्ड राजदूतावासका प्रतिनिधि इन्बुस्क पेट्रा, स्वीस राजदूतावासका प्रतिनिधि प्रतीज्ञा सिमखडा बासकोटा समेतको उपस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरुम, को–क्याप समेतको सहभागितामा कार्यक्रम भएको थियो ।

न्यायको निम्ति जुटेका मानव अधिकार रक्षकहरु पीडकहरुको पक्षमा उभिएका शक्ति समूहबाट असुरक्षा हुने गरेको नागरिक समाजका अगुवाहरुले टोलीसंग समस्या दर्शाए । यूरोपियन यूनियनको राजदूतावासका राजनीतिक विभाग प्रमुख मिलरले मानव अधिकार रक्षकको सुरक्षा राज्यको दायित्व भएको बताउनुभयो ।

नागरिक समाजसंगको छलफलपछि टोलीले दैलेख प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे र दैलेखका प्रहरी इञ्चार्ज गणेशबहादुर बरालसंग मानव अधिकार रक्षकहरुको सुरक्षा प्रत्याभूती दिलाउन आग्रह गरेको थियो । प्रमुख जिल्ला अधिकारी गैह्रेले सबैलाई न्याय दिलाउन जुटेका मानव अधिकार रक्षकहरुको सुरक्षाप्रति प्रहरी प्रशासन सधैं सम्वेदनशील रहेको चर्चा गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रमुख रमेशकुमार थापा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजय गौतम, मानव अधिकार विभागका प्रमुख मदन पौडेल, कर्णाली प्रदेश संयोजक नारायण सुबेदी, एडभोकेसी फोरुमका बसन्त, गौतम कोक्यापका पवित्रा कार्की टोलीमा सहभागी हुनुहुन्थ्याे ।

गैसस महासंघका केन्द्रीय सदस्य हिरासिंह थापा, जिल्ला अध्यक्ष डिलकुमारी चन्द, दैलेख उद्योग बाणिज्यसंघका अध्यक्ष नरेन्द्रबहादुर थापा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अमर सुनार, पूर्व अध्यक्ष पुस्कर थापा, नेत्रहीन संघका जिल्ला अध्यक्ष ओम शर्मा, फोटो पत्रकार महासंघका केन्द्रीय सचिव बिशाल सुनार लगायतले  दैलेखमा मानव अधिकार रक्षकहरुको अवस्था विषयमा प्रकाश पार्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ जेठ २८ गते बुधबार