२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

विपद व्यवस्थापन बारे सराेकारवालाई अभिमुखीकरण



दैलेख – विपद व्यवस्थापन पूर्वतयारी विषयमा सरोकारवालाहरुलाई सहकार्य विषयमा दैलेख सदरमुकाममा अभिमुखीकरण गरिएको छ । मनसुनी वर्षा सुरु भइसकेकोले जाखिमयुक्त क्षेत्रको पहिचान, विपदको बेला उद्धार, राहत तथा पुस्थापनामा सहयोगी निकायहरुको सहकार्य विषयमा शनिबार अभिमुखीकरण गरिएको हो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले यातायातको सुविधापछि खोला किनाराहरुमा विस्तार भएका बजारहरुले विपद निम्त्याइरहेकोले जोखिमयुक्त बस्तीहरु हटाइनुपर्ने सुझाव दिनुभयो । प्रकृतिको दोहन गर्ने र बेवास्ता गर्ने मानव स्वभावले विपदका घटना हुने गरेको उहाँले टिप्पणी गर्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले आफू आएको डेढ महिना अवधिमा विपदजन्य जोखिम विश्लेषण र विपदका घटना भइहाले उद्धार, राहत तथा पुस्थापना पूर्वतयारी विषयमा पालिकाहरुको बैठक, पूर्व अभ्यास लगायतका केन्द्रित रहेको सबै भन्दा बढी समय दिएको बताउनुभयो ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव रोशनी श्रेष्ठले विपदको सम्वेदनशीलता विपद भइहाले क्षति कम हुने अनुभव सुनाउनुभयो । विपदको बेला छिटो छरितो सेवा पु¥याउने उद्देश्यले राहत सहयोग, साधन र श्रोत सोझै पालिकाहरुमा पठाएकोले स्थानीय तहहरुले जिम्मेवार भई काम गर्न आग्रह गर्नुभयो ।

‘पहिले सीडीओ कार्यालयबाट दिंदै आएको मृतक राहत, सामग्री र सबैजसो श्रोतहरु स्थानीय तहहरुमै पठाएको छ । विपदको बेला पीडितलाई छिटो छरितो सहयोग पुगोस् भनेर स्थानीय तहहरुमा पठाइएको हो, विपद व्यवस्थापन पूर्वतयारी विषयमा पनि स्थानीय सरकारले ध्यान दिनुपर्छ’ सहसचिव श्रेष्ठले भन्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक हेमन्त डंगोलले नेपाल सरकारले लागू गरेको ‘विपद न्युनीकरण सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड २०८१’ बारे अभिमुखीकरण गर्नुभएको थियो । राहत वितरण मापदण्डले स्थानीय सरकारलाई साधन, श्रोत र सवलीकरण गरेको उहाँले प्रष्टयाउनुभयो ।

सेद द चिल्ड्रेन र एभरेष्ट क्लव दैलेखको साझेदारी तथा गृह मन्त्रालयको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वय तथा आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा विपद व्यवस्थापनमा सराेकारवाला र दैलेखका ११ वटै स्थानीय तहका विपद व्यवस्थापन शाखाका प्रमुखहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार