२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

दैलेखमा पनि मनाइयो छुवाछूत उन्मूलन दिवस



दैलेख – समाजमा अझैं कायम रहेको जातीय भेदभाव तथा छुवाछूत समस्या र समाधानका उपाय विषयमा दैलेखमा छलफल भएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा सामाजिक विकास कार्यालय दैलेखले जिल्ला सदरमुकाममा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीले जातीय विभेद पहिलेको तुलनामा धेरै कमी आएको तर विभेद उन्मूलन गर्न दलित र गैरदलितहरुको सामुहिक प्रयास जरुरी रहेको बताउनुभयो ।

त्यसबखत नारायण नगरपालिकाका कार्यपालिका सदस्य खगिसरा सुनारले विभेद सचेतना अभियान सञ्चालन गरिनुपर्ने सुझाव दिनुभयो । कार्यपालिकाका सदस्य बखत नेपालीले दलितहरुलाई आर्थिक उपार्जनका काममा लगाउन आग्रह गर्नुभयो । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेलका इञ्चार्ज वरिष्ठ सई श्यामराज अर्यालले जातीय विभेदका भयो भनी प्रहरीमा आएका उजुरीमा कानूनी कारवाही भइरहेको र पीडितहरुका लागि प्रहरीको ढोका सधैं खुला रहेको बताउनुभयो ।

विभेद विरुद्ध बोल्न दलितहरुले नै थालियो भने साथ र समर्थन थपिने युवाअभियन्ता सुनिता सोनीले बताउनुभयो । उहाँले भन्नुभयो हामी जतिको पढेलेखेकाहरुलाई जातीय विभेद छैन तर सर्वसाधारणलाई छ, जहाँ विभेद हुन्छ त्यहाँ बोलौं । पहिले जस्तो छैन, ऐन कानून र राज्यको नीतिले विभेद उन्मूलन उन्मुख छ । त्यसका लागि पीडितले आवाज निकाल्नुपर्छ, शुभेच्छुक र शुचिन्तकहरुलाई महसुश गराउन सकियो भने अभियानमा गैरदलितहरु समेतको साथ मिल्छ युवाअभियन्ता सोनीले व्याख्या गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले जातीय विभेद हटाउन नियम कानून प्रयाप्त भए पनि कार्यान्वय प्रणाली अझैं प्रभावकारी हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तूत गर्दै जातीय विभेद तथा छुवाछूत कसूर र सजाय ऐन २०७५ मा निजी स्थानमा समेत विभेद गर्न नपाइने, विदेशमा गरेको जातीय विभेदको पनि नेपालमा मुद्दा चल्न सक्ने, कसूर ठहरेमा कैद र जरिवाना दुवै हुने जस्ता कानूनी प्रावधान छन् तर कार्यान्वयन निकायको वेवास्ता रहेको सुनारले सुनाउनुभयो ।

सामाजिक विकास कार्यालय दैलेखका प्रमुख राजेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा नारायण नगरपालिकाका महिला बालबालिका शाखा प्रमुख गीता बुढा, सोही शाखाका पार्वती बोगटी, शिक्षा विकास तथा समन्वय इकाईका प्रास टेकराज कँडेल लगायतले दिवसको महत्व र विभेदको अवस्था विषयमा बोल्नुभएको थियो । २०६३ जेठ २१ गते तत्कालिन प्रतिनिधिसभाले नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको दिनलाई स्मरण गर्दै हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २१ गते बुधबार