
कालिकोट – कर्णाली करिडाेर सडक फराकिलो बनाउने निर्माणको काम चलिरहेकोले हुल्मदेखि लालीघाट खण्डमा चार दिन यातायातका साधनहरु बन्द हुने भएको छ । कर्णाली राजमार्गको खुलालु–लालीघाट सडक खण्ड आगामी मङ्गलबारदेखि चार दिन सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय कालिकोटमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयाे । कर्णाली करिडाेर सडक एक किलोमिटर रुटमा फराकिलो बनिसकेपछि खुला गरिने उहाँले प्रष्ट्याउनुभयाे ।
जेठ २० गतेदेखि २४ गतेसम्म बन्द रहनेछ । कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने छन् भने हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना र पलाताबाट आएका गाडी लालीघाटमा रोकेर यात्रुलाई गन्तव्यमा पठाउने व्यवस्थापन गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्