
दैलेख – जेठ १५ गते मनाइने गणतन्त्र दिवसमा राजनीतिक दलका कार्यकर्ताहरुको व्यापक सहभागिता बढाउने दलहरुले प्रतिवद्धता जनाएका छन् । दिवसहरुमा न्यून सहभागिता हुने गरेको भनी गणतन्त्र दिवस पूर्व तयारी बैठकमै विषय उठेपछि आज जिल्ला प्रशासन कार्यालय दैलेखमा दलका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका हुन् ।
राजनीतिक योगदानले ल्याएको परिवर्तनको उपलब्ध चर्चा हुने कार्यक्रममा सहभागिता बढाउन पर्ने यस दलहरुले अगुवाई गर्नुपर्छ नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष मायाराम अधिकारीले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो ‘प्रभातफेरीमा २० जना ल्याउछु, आफूलाई ठूला भन्नेहरुले पनि दलको साइज अनुसार जिम्मा लिनुपर्यो ।’
पूर्व तयारी बैठकमा सहभागी नेपाली काँग्रेसका जिल्ला सभापति मणिराम रेग्मीले दिवसहरुमा सचेत नागरिकहरुले यस्ता कार्यक्रमहरुमा आआफै सहभागिताको जनाउन बुद्धिमानी हुने बताउनुभयो । नेकपा माओवादी केन्द्रका संयोजक गोपाल रिजालले परिवर्तनका पक्षहरुहरुले दिवसलाई उत्साहप्रद बनाउन सहभागी हुनुपर्ने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा भएको गणतन्त्र दिवस पूर्वतयारी बैठकले १४ गते कर्मचारी मिलन केन्द्रले भलिबल प्रतियोगिता गर्ने, जिल्ला समन्वय समितिको कार्यालयले १५ गते विहान गणेशचोकबाट झाँकी सहित प्रभातफेरीपछि जिससको हलमा औपचारिक कार्यक्रम गर्ने, उक्त कार्यक्रममा द्रैलेख उद्योग बाणिज्य संघले रेडक्रस मावि भूर्तीमा रहेको सुस्त श्रवण केन्द्रमा अध्ययनरत बालबालिकालाई विद्यालय पोशाक वितरण गर्ने, त्यही दिन नारायण नगरपालिकाले स्वास्थ्य जाँच शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ ।
निर्णयमा सक्रिय सहभागिता र प्रतिवद्धताले कार्यक्रम प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । दलहरुको प्रतिवद्धता पनि आएको र कार्यक्रमको मौलिक भएकाले यस पटकको गणतन्त्र दिवस अलि बढी सहभागितामूलक हुनेमा आफू आशावादी रहेको निमित्त समन्वय अधिकारी साधना तिवारीले टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्