
दैलेख – दुल्लू नगरपालिका-११ मा सञ्चालित खानेपानी आयोजनाहरुको सुचारु अवस्था जानकारी गराउन खानेपानी सुचारु सम्बन्धी सार्वजनिक सुनुवाइ भएको छ । सञ्चालित आयोजनाहरुको सफल प्रयासहरु सिकाई आदानप्रदान गर्ने र समस्या रहेका आयोजनाहरुमा समाधानका उपाय विषयमा छलफल भएको थियो । आयोजनाका अध्यक्षहरुले अवस्था जानकारी गराउनुभएको थियो ।
खानेपानी सुचारु गराउन दुल्लू नगरपालिकाले हेलो धारा कार्यक्रम सञ्चालन गरेको दुल्लू नगरपालिकाका मेयर भरतप्रसाद रिजालले बताउनुभयो । उपभोक्ताले फोन गरेको लगतै खानेपानीका मुहान, धारा र आयोजनाको व्यवस्थापकीय सुधारका लागि तत्परता प्रणाली सुरु गरिएको उहाँले जानकारी दिनुभयो । समस्या देखिएको बेला जतिबेला पनि खबर गर्न मेयर रिजालले आग्रह गर्नुभयो ।
त्यसबखत दुल्लू नगरपालिका-११ का वडाध्यक्ष सुरत भण्डारीले वडा क्षेत्रमा सञ्चालित खानेपानी आयोजना र नयाँ निर्माण भइरहेको आयोजनाहरुको उपभोक्ता समितिले निर्वाह गर्नुपर्ने सुशासन, पारदर्शिता, जवाफदेहितासंगै उपभोक्ताहरुले श्रमदान दिए आयोजना गुणस्तर भरपर्दो हुने बताउदै आवश्यक परेको अवस्थामा वडा कार्यालयबाट सधैं सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा खानेपानी आयोजना सम्वन्धी सहयोग गरिरहेको हेल्भेटास नेपालका सुशासन अधिकृत अक्कलबहादुर शाह, सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापा, दुल्लू नगरपालिका-१२ का वडाध्यक्ष लिलाराम लम्साल, एकीकृत खानेपानी तथा जलश्राेत व्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक बद्री लम्साल लगायतका परियोजनाका कर्मचारी र सर्वसाधारणको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्