२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

उपभोक्ताको खबरदारी जरुरी : मुख्यमन्त्री कँडेल



दैलेख – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेले विकास आयोजनाहरुको गुणस्तरीयता बढाउन स्थानीय उपभोक्ताहरुको खबरदारी जरुरी रहेको बताउनुभएको छ । माथिल्लो डुंगेश्वरदेखि पालिका मुकामसम्मको सडक कालोपात्रे कामको शिलान्यास कार्यक्रममा उहाँले उपभोक्ता सजगता निम्ति आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो जनप्रतिनिधि र कर्मचारी मात्र जिम्मेवार भएर पुग्दै आम उपभोक्ताले पनि आवश्यक परेको ठाउँमा सहयोग गर्ने, गुणस्तर कमजोर देखे खबरदारी गर्नुपर्ने औंल्याउनुभयो । यो सडकको काम छिटो छरितो भए ढिलाई गरिरहेको पारिपट्टि दुल्लूको सडक काम गर्ने ठेकेदारलाई नैतिक दवाव हुने उहाँले चर्चा गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री गमता बिकले संघीयतापछि विकास थुप्रै आएका तर दिगोपन हुन नसकेको औल्याउनुभयो । त्यसबखत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव इश्वरचन्द्र मरहट्टाले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका ८ आयोजना मध्ये पहिलो आयोजना शिलान्यास भएकोमा खुशी व्यक्त गर्नुभयो ।

तस्विर साैजन्य : गाेबिन्द केसी

डुंगेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर केसीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पूर्णबहादुर खत्री, दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे, प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका आयोजना प्रमुख डिभिजनल इञ्जिनियर यगेन्द्र धराला, निर्माण कम्पनीका एवं कर्णाली प्रदेश निर्माण व्यवसायी समितिका महासचिव मानव बमले समेत निर्माण आयोजनाको गुणस्तरीयता र सहकार्य बारे बोल्नुभएको थियो ।

विश्व बैंकको ऋण सहायतामा संचालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमले २८ करोड १२ लाख ७५ हजार ९ सय ३७ रुपैयाँमा गरिएको ठेक्का आह्वानमा अमर कन्स्ट्रक्सन प्रालि, खड्का कृष्ण कन्स्ट्रक्सन प्रालि र वासना निर्माण सेवा तीन वटा कम्पनीको जेभीमा २४ करोड बढीमा ठेक्का सम्झौता भइ काम थालिएको छ ।

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका ८ वटा सडकहरु दैलेखमा डुगेश्वर गाउँपालिका जोड्ने यो सडक, कर्णाली करिडोरदेखि हुम्लाको अदानचुली, कर्णाली राजमार्गबाट कालिकोटको महाबै गाउँपालिका र डोल्पाको छाकीताङ्गको मुकाम जोड्ने सडक निर्माण गरिदैछन् । यो कार्यक्रमले मधेश र सुदूरपश्चिममा दुुई–दुई वटा सडक आयोजनाले निर्माण गरिदैछन् ।

कार्यक्रमका ८ आयोजना मध्ये सबै भन्दा छिटो काम थाल्ने दैलेखमा डुगेश्वर गाउँपालिका जोड्ने यो सडक पहिलो आयोजना भएको छ । अमर–खड्का कृष्ण–वासना निर्माण सेवा जेभीले सम्झौता भएको एक महिनामै काम थालेको छ । सडक फराकिलो पार्ने र कालोपत्रेको गर्न दुई वर्षको समय दिइएको छ । निर्माण कम्पनीले एक वर्षमै काम सक्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख २४ गते बुधबार