
दैलेख – नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले व्यापारीहरुको साझा हितमा काम गर्न सहमतीको नेतृत्व तयार गर्न आग्रह गर्नुभएको छ । बुधबार दैलेख सदरमुकाममा आयोजित दैलेख उद्योग बाणिज्य संघको दशौं अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
सबै उद्योगी, व्यापारीहरुले दलगत स्वार्थबाट माथि उठेर साझा भावनाबाट दैलेख उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न सके मात्र साझा संस्था बन्न सक्ने नगर प्रमुख शर्माले सुझाव दिनुभयो । सहमती हुन नसके स्वच्छ र स्वस्थ निर्वाचन प्रणाली अवलम्बन गर्न उहाँले आग्रह गर्नुभयो ।
त्यसबखत दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले दैलेख उद्योग बाणिज्य संघको व्यापारिक स्वार्थ भन्दा माथि उठेर आम उपभोक्ताहरुको अधिकारको सम्मान गर्न आग्रह गर्नुभयो । उपभोक्ताहरुले तिरेको मूल्य अनुसारको सेवा र बस्तुको गुणस्तरमा सम्झौता हुन नसक्ने उहाँको तर्क थियो ।
दैैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले स्वागत मन्तव्य र महासचिव प्रकाश पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । वैशाख २१ गते आइतबार गणपूरक संख्या नपुगेपछि बुधबार अधिवेशन बोलाइएको हो ।
संघको जिल्ला नेतृत्व चयन गर्न दशौं अधिवेशनमा बरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा र बाणिज्य उपाध्यक्ष राजेश हमाल अध्यक्षको उम्मेदबार बन्ने देखिएको छ । संघको विधान अनुसार एक जना अध्यक्ष र १५ जना सदस्य निर्वाचन गराउने र पहिलो बैठकले तीन उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको चयन गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्