२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

पत्रकार महासंघले रक्तदान कार्यक्रम गर्दै



दैलेख – नेपाल पत्रकार महासंघको दैलेख शाखाले भोलि वैशाख १९ गते रक्तदान तथा नसर्ने रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर गर्न लागिएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले जानकारी दिनुभयो ।

दैलेख अस्पतालसंगको सहकार्यमा जिल्ला सदरमुकामको देवकोटा चोकमा भोलि रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर गर्ने र पर्सि वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवसको दिन महासंघको दैलेख शाखाको वार्षिक साधारणसभा गर्ने अध्यक्ष सुनारले बताउनुभयो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विहान १० बजे गणेशचोकदेखि र्‍यालीले नगर परिक्रमापछि जिससको सभाहलमा साधारणसभा उदघाटन कार्यक्रम तय गरिएको छ । महासंघको दैलेख शाखाका साधारण सदस्य मध्येबाट प्रदेश र केन्द्रीय समितिमा प्रतिनिधित्व गर्नुभएकाहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

साधारणसभामा नेपाल पत्रकार महासंघको दैलेख शाखाको आर्थिक तथा सांगठनिक प्रतिवेदनमा छलफल गर्नुसंगै नीति, योजना तथा दैलेख शाखाको कार्यक्रम बारे नीतिगत निर्णय गरिने बताइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यी कार्यक्रम गर्न लागिएको हो । हरेक वर्ष मे ३ तारिकका दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख १८ गते बिहीबार