
सुर्खेत – उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा जिल्ला अदालतले गरेको जन्मकैदको सजाय सदर गरेको छ । न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २४ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गर्नुसंगै जातीय विभेद कसूरमा दिइएको सजाय बदर भएको उच्च अदालतका उपरजिस्ट्रार सूचना अधिकारी प्रेमप्रकाश थापाले जानकारी दिनुभयो ।
घटनामा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत सोती गाउँका नेत्रबहादुर मल्ल, रेशम मल्ल, सविन पुन, नवीनकुमार घर्तीमगर, विराज पुन मगर, धनराज राना, भीमबहादुर पुन, रमित पुन मगर, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, मोहन पुन मगर, इर्दबहादुर ठकुरी, तिलक चन्द, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, विष्णु मल्ललाई जन्मकैद भएको छ ।
फैसला अनुसार नवराजकी प्रेमिकाका बुबा परिवर्तित नाम ‘५४ रूकुम पश्चिम ३६ (१)’ र दाजु ‘५४ रूकुम पश्चिम ३६ (३)’ लाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो । रूकुम जिल्ला अदालतले २०८० मंसिर १९ मा २३ जनालाई जन्मकैद पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर भएको थियो ।
जिल्ला अदालतले नवराजकी प्रेमिकाका भाइलाई उमेरका आधारमा २५ वर्षभन्दा कम कैद सजाय सुनाएको थियो । जन्मकैदको सजाय पाएका ठकुरी समुदायका १७ जनालाई जातीय विभेदको कसुरमा थप दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
नवराजकी प्रेमिका र उनकी आमालाई पनि जातीय विभेदमा दुई वर्ष कैद सुनाइएको थियो । तर प्रेमिका नाबालिग भएकाले एक वर्ष चार महिना मात्र कैद बसे पुग्ने जिल्ला अदालतको फैसलामा उल्लेख थियो। तर उच्च अदालतले जातीय विभेद कसुरको सजाय उल्टाएसँगै उनीहरूको सजाय बदर भएकाे उपरजिस्ट्रार सूचना अधिकारी थापाले बताउनुभयाे ।
२०७७ जेठ १० गतेको जातीय नरसंहारका रूपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो । त्यसमा २०८० माघ २२ गते उच्च अदालत सुर्खेतमा पुनरावेदन परेको थियो । त्यसको अन्तिम फैसला मंगलबार भएको हो ।
घटनाको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए । जाहेरीका आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ ग¥यो । बाँकी १४ जनालाई पक्राउ परेकाहरूको बयानका आधारमा पक्राउ गरिएको थियो ।
सरकारी वकिल कार्यालय मार्फत् ३४ जनाविरूद्ध मुद्दा दायर गरिएको थियो । उनीहरूमध्ये थुनछेक बहसका क्रममा नाबालक नवराजकी प्रेमिका र भाइसहित ११ जनालाई साधारण तारेखमा छाडिएको थियो ।
प्रतिक्रिया दिनुहोस्