२०८२ भदौ २ , सोमबार (2025 Aug 18, Monday)

ललितपुर अपराजित रहँदै च्याम्पियन



काठमाडौं – ललितपुर सिटी एफसीले लगातार दोस्रो पटक नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ । शनिवार दशरथ रंगशालमा भएको फाइनलमा पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर तेस्रो संस्करणमा अपराजित रहेर च्याम्पियन बनेको हो ।

ललितपुरका लागि दुई विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले गोल गरे । पोखराका लागि एनआरएन खेलाडी सुदिल राईले एक गोल फर्काए । ललितपुर अपराजित रहँदै उपाधि जित्ने कीर्तिमान बनाएको छ । यस्तै एनएसएलको उपाधि रक्षा गर्ने पहिलो टिम पनि ललितपुर नै बनेको छ ।

एनएसएलमा ललितपुरले अपराजित खेलको शृंखला पनि बढाउँदै ११ पु¥याएको छ । दोस्रो सिजन अन्तिम ३ खेलमा अपराजित रहेको ललितपुर यस सिजन खेलेको ८ वटै खेलमा अपराजित रह्यो । च्याम्पियन ललितपुरले नगद ८० लाख र उपविजेता पोखराले ३० लाख हात पार्नेछ ।

खेलको सुरुवात सुस्त रहेपनि इमोह इजेकेलले पहिलो हाफको अन्त्यतिर गोल गर्दै साविक विजेता ललितपुरलाई अग्रता दिलाउनुभएको थियो । इमोह इजेकेलले खेलको ४२औं मिनेटमा गोल गर्दै ललितपुर सिटीलाई अग्रता दिलाउनुभयो ।

इमोह इजेकेलले मनोज राईको क्रसमा गोल गर्दै साविक विजेतालाई अग्रता दिलाए । पोखराले आफ्नै गल्तीमा गोल व्यहोरेको छ । बिएस्सी विलियमले क्लियर गरेको बल बक्स बाहिर ललितपुरका सन्तोष क्षेत्रीले पाए । उनले बायाँ भागमा रहेको मनोज राईलाई पास दिए ।

मनोजले क्रस हानेको बल रोक्न पोखराका किपर प्रिसो अघि बढेका थिए । त्यही मौकामा इमोहले हेड मार्फत गोल गरे यस सिजन उहाँको यो तेस्रो गोल हो ।

यसअघि इमोहले लिग चरणमा पहिलो गोल पनि पोखरा थण्डर्स विरुद्ध नै गर्नुभएको थियो । जुन खेल ललितपुरले ३–२ ले जितेको थियो । अर्को गोल गिमा एफसी चितवन विरुद्ध थियो । दोस्रो सिजन ललितपुरले उपाधिमा ६ गोल गरेका इमोहले सर्वाधिक ९ गोल गर्ने धनगढी एफसीका अहमद हिजाजीको कीर्तिमान पनि भेट्टाउनुभयो ।

पहिलो हाफमा ललितपुरले पाएको यो नै सबैभन्दा राम्रो अवसर थियो र त्यसमा गोल पनि भयो । त्यसअघि पोखराका स्टेफेन समिर विनोङले पनि राम्रो अवसर पाउनुभयो तर गोल गर्न सक्नुभएन । पोखराका लागि सुदिल राईले ६३औं मिनेटमा बराबरी गोल फर्काउनुभयो । खेल १–१ को स्थितीमा पुगेपछि रोमाञ्चक बनेको थियो ।

पदम भट्टराईले दायाँ भागबाट दिएको क्रस सुरुमा स्टेफेन समिर विनोङले हेड हान्नुभएको थियो । ललितपुरका गोलकिपर जेफ्री बाल्टुसले बल रोकेपनि पूर्ण रुपमा क्लियर गर्न नसकेपछि नजिकै रहेका सुदिलले गोल गर्नुभयो । ललितपुरका सनिशले सुदिललाई रोक्ने प्रयास गरेपनि सफल भएनन् ।

पापा इबोउ केबेले ७४औं मिनेटमा गोल गर्दै ललितपुरलाई अग्रता दिलाउनुभयो । पापा इबोउ केबेले ललितपुरको अग्रता २–१ बनाउनुभयो । पहिलो गोल गरेका इमोह इजेकेलले असिस्ट गर्नुभयो । यस पटक पनि पोखराले आफ्नै गल्तीले गोल खाएको छ ।

पोखराका विलियम बिएस्सीले क्लियर गरेको बल फितलो रहेपछि बक्स बाहिर रहेका इमोहले बल पाउनुभयो । उहाँले सिधै बक्सम क्रस दिनुभयो । पोखराका जाफारोभले बल रोक्न खोजेपनि भेट्नुभएन । त्यसपछि ललितपुरका पापा केबेले बल पाए उनले कन्ट्रोल गर्दै सानदार फिनिस गर्नुभयो ।

पोखराले खेलमा पर्कने प्रयास गरेपनि सफल हुन सकेन र पहिलो पटक उपाधि जित्ने लक्ष्य पूरा भएन । ललितपुरका कप्तान अनन्त तामाङसहित सनिश श्रेष्ठ, आदित्य शाक्यसँगै विदेशी खेलाडीहरु जेफ्री बाल्टुस, इमोह इजेकेल र पापा इबोउ केबेले लगातार दोस्रो पटक एनएसएल उपाधि जित्नुभयो ।

प्रकाशित मिति : २०८२ वैशाख १३ गते शनिबार