२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

निजामती कर्मचारी खटाएर १२ कक्षाको परीक्षा चलाइदै



काठमाण्डौं – शिक्षकहरुको आन्दोलनको बेला विकल्पमा निजामती कर्मचारी खटाएर वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बिहान बसेको बैठकले निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

आन्दोलनरत शिक्षकलाई कक्षा १२ को परीक्षामा सहभागी हुन र सञ्चालन गर्न पुनः अनुरोध गर्ने निर्णय गरेको तर शिक्षकहरुले असहयोग गरे विकल्पमा निजामती कर्मचारी परिचालन गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका सबैजसो पदाधिकारीले परीक्षा जसरी पनि गराउने र यसको लागि प्रमुख जिल्ला अधिकारीलाई थप सक्रिय बनाउनु पर्ने सुझाव अनुसार निजामती कर्मचारी परिचालन गरी कक्षा १२ को परीक्षामा तोकिएकै समयमा गर्ने निर्णयमा राष्ट्रिय परीक्षा बोर्ड निष्कर्षमा पुगेको हो ।

शिक्षा मन्त्री विद्या भट्टराईले प्रधानमन्त्रीसंगको विवादका कारण पदबाट राजीनामा दिएको, देशभरका शिक्षकहरु विद्यालय शिक्षक ऐनको माग राख्दै सरकार विरुद्ध आन्दोलन गरिरहेको बेला राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गर्नपर्ने वाध्यता छ ।

प्रकाशित मिति : २०८२ वैशाख ९ गते मंगलबार